
विराटनगर, वैशाख २० गते । विगत चार दिनयता भन्सार कार्यालयमा व्यावसायिक मालवस्तुको जाँचपास भएको छैन । भन्सारविन्दुमा व्यावसायिक वस्तु बोकेका सवारी थन्किन थालेपछि धेरै गाडी भारततर्फ ‘होल्ड’ भएका छन् । बिहीबारसम्म समस्या सुल्झाउने प्रयास सफल नहुँदा शुक्रबारदेखि तीन दिन बिदा छ । भन्सारविन्दुबाट प्रवेश गराउन भारतका विभिन्न ट्रान्सपोर्टबाट पठाइएका कतिपय वस्तुको भने अवैध पैठारी हुन थालेको दाबी व्यवसायीले गरेका छन् ।
विराटनगर भन्सारका एक जना भन्सार एजेन्टका अनुसार खुला सीमाक्षेत्रबाट पछिल्लो समय सामान ल्याउने काम नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको छ । राति १० बजेदेखि बिहान ५ बजेसम्म सीमाक्षेत्रबाट ‘क्यारिङ’ मा सामान आइरहेको उहाँले बताउनुभयो । खुला सीमानाकाबाट पछिल्लो समय भन्सार हुँदै प्रवेश गराउने सामान नै आउन थालेको उहाँले जानकारी दिनुभयो । जुन भारतमा रोकेर राखिएका मालवाहक सवारीबाट अनलोड गराइएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कङ्कालिनी गण टङ्कीसिनबारी मोरङका प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीले खुला सीमाक्षेत्रमा अवैध पैठारी रोक्न त्यसै पनि चुनौती रहेको बताउनुभयो । उहाँले अवैध पैठारी निश्चित स्थान नै थाहा नहुने भएकाले कतिपय स्थितिमा नियन्त्रणमा लिन असजिलो हुने बताउनुभयो ।
प्रहरी उपरीक्षक भण्डारीकै अनुसार दिउँसोसमेत महिलालाई प्रयोग गरेर भित्र्याइने सामान नियन्त्रणमा लिन सहज छैन । उहाँका अनुसार सीमाक्षेत्रबाट ठुलो सङ्ख्यामा एकै पटक महिला सामान लिएर भित्रिने गरेको र उनीहरूको झोला चेकजाँच गर्न थालेपछि उल्टै लछारपछार पार्न थाल्ने गरेका छन् । “झोलामा हेर्दा थोरै सामान देखिन्छ तर उही महिलाले दिनभरि ल्याएको ल्याई गर्छन्,” उहाँले भन्नुभयो ।
विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकी शर्मा राज्यले यसको उचित सम्बोधन नगर्ने हो भने सानो सानो परिमाणमा वस्तु खरिद गरेर ट्रान्सपोर्टमार्फत आयात गर्ने व्यवसायीले भन्सारविन्दुको बाटो बिर्सन सक्ने स्थिति आउन सक्छ । अध्यक्ष शर्माले बल्क कार्गोबाहेक भारतमा खरिद गरिएका सामान भन्सारविन्दुमा रोकिन नसक्ने सम्भावना बढ्दै गएको बताउनुभयो ।
वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेर मात्रै भन्सार जाँचपास गराउनुपर्ने सरकारको निर्णयसँगै मङ्गलबारयता औद्योगिक कच्चा, स्याउ, आलु र प्याजबाहेकका वस्तुको आयात रोकिएको छ ।
गोरखापत्र अनलाइन



