
काठमाडौँ, वैशाख २० गते । बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ । फिल्मको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले फिल्म नेपालमा उच्च सोसहित प्रदर्शनमा आएको जानकारी दिनुभयो । साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दृष्टिकोणको विषयमा फिल्म बनेको हो । फिल्म मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजी महाराजको जीवनीमा आधारित छ ।
फिल्मलाई अभिनेता रितेश आफैँले निर्देशन गर्नुभएको हो । उहाँ स्वयम् मुख्य भूमिकामा हुनुहुन्छ । यसै गरी जेनेलिया देशमुख, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन र महेश मान्जरेकर जस्ता दिग्गज कलाकारको पनि यस चलचित्रमा अभिनय रहेको छ ।
रितेशका कान्छा छोरा राहिल देशमुखले यस फिल्ममा छत्रपति शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गर्दै अभिनयमा पदर्पण गर्नुभएको छ । जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया डिसुजाले निर्माण गरेको फिल्म एक सय करोडभन्दा बढी भारतीय रुपियाँमा निर्माण भएको हो । रितेश देशमुखले निर्देशन गरेको यसअघिको मराठी फिल्म ‘वेड’ व्यावसायिक रूपमा निकै सफल भएको थियो । यसैले ‘राजा शिवाजी’ प्रति दर्शकको ठुलो अपेक्षा रहेको छ ।गोरखापत्र अनलाइन



