कला

‘निफ’ मा ‘आमा खान्डो’ उत्कृष्ट फिल्म

फिल्मीखबर, काठमाडौं, 2021/05/11

पाँच दिनसम्म चलेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सोमवारबाट सकिएको छ । महोत्सवमा फिल्म प्रदर्शनसँगै विभिन्न विषयमा फिल्मकर्मीबीच छलफल पनि भएको थियो । महोत्सव उद्घाटनपछिको पहिलो सेसनमा बलिउड निर्देशक अनुराग कश्यपले फिल्म सम्बन्धि आफ्नो अनुभव बाँडेका थिए । कोरोना महामारीका कारण यसपटक ‘निफ’ अनलाइनमा भएको हो ।

महोत्सवमा प्रदर्शन भएका फिल्ममध्ये उत्कृष्टलाई पुरस्कार पनि प्रदान गरिएको छ । ‘निफ’ मा स्वदेशी फिचर फिल्मतर्फ डान्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ उत्कृष्ट फिल्म घोषित भयो भने निर्देशकतर्फको अवार्ड पनि यही फिल्मले जित्यो । फिल्मले एक लाख नगद पुरस्कार जितेको छ । त्यस्तै, ‘लाटकोसेरो’ बाट नविन शिल्पकार र सरिता गिरी उत्कृष्ट नायक-नायिका घोषित भए ।

सिरिस गुरुङको निर्देशन तथा छायांकनमा तयार भएको फिल्मले छायांकनतर्फको अवार्ड पनि जितेको छ । फिचर फिल्मतर्फकै उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’ बाट सर्जियो बासोले आफ्नो पोल्टामा पार्दा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर फिल्मको अवार्ड बात्र्या बसु निर्देशित ‘डिक्स्नेरी’ ले जित्न सफल भयो । यो फिल्मले १५ सय अमेरिकी डलर प्राप्त गरेको छ ।

सर्ट फिल्म तथा डकुमेन्ट्री अन्तर्गत प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय फिल्ममध्ये दक्षिण कोरियाको ‘गड्स डटर डान्सेज’ ले ५ सय पुरस्कार राशीको बागमती पुरस्कार जित्दा नेपालबाट राजेशप्रसाद खत्री निर्देशित ‘जुलुङ्गो’ उत्कृष्ट ठहरियो । यो फिल्मले पनि ५ सय डलर पाएको छ । त्यस्तै, एनिमेटेड विधामा फिनल्यान्डको ‘उबरफ्रग’ ले ७ सय ५० डलर पुरस्कार राशिको मञ्जुश्री अवार्ड पायो ।

महोत्सवमा डकुमेन्ट्र तर्फको अवार्ड भने स्वीजरल्यान्डको ‘रिटर्न टु दि लस्ट इडेन’ ले जितेको छ । यो फिल्म १ हजार डलर राशीको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्‍यो । यो विधामा कोरोना महामारीको विषयमा बनेको गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ उत्कृष्ट भयो । यसले पनि ५ सय डलर पुरस्कार पाएको छ । बिहीबारबाट सुरु भएको महोत्सवमा ६६ फिल्म देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button