
कात्तिक १४, २०७८
एजेन्सी – क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा डिपोर्टिभो एलाभेससँग बराबरीमा रोकिएको छ । अग्रता जोगाउन नसक्दा बार्सिलोना एलाभेससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डिपाएले गोल गर्दा एलाभेसका लुइस रियोजाले बराबरी गोल फर्काए ।
८० प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनाले एलाभेसलाई हराउन सकेन ।
४९औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए । तर बार्सिलोनाको त्यो अग्रता लामो समय टिकेन । ५२औं मिनेटमा लुइस रियोजाले जोसेलुको पासमा बराबरी गोल फर्काए ।
त्यसपछि थप गोल निस्कन नसक्दा अन्तरिम प्रशिक्षक सेर्जी बरजुआनको पहिलो खेलमा बार्सिलोनाले जित निकाल्न सकेन । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानको बर्खास्तीपछि बार्सिलोनाले सेर्जीलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको थियो ।
यो बराबरीपछि बार्सिलोना ११ खेलबाट १६ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग ९ अंकले पछि परेको छ । एलाभेस १० अंक जोडेर १६औं स्थानमा रहेको छ ।hamrokhelkud/from



