
मेचीनगर । झापाकोमेचीनगर नगरपालिकाको नवौँ नगर सभा बुधबारदेखि सुरु भएको छ ।
नगरपालिकाको सभा हलमा सुरु भएको नगर सभाको उद्घाटन प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आर्थिक वर्ष २०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरमा धेरै योजनाहरु सम्पन्न भएको र केही योजना अधुरा रहेकोले त्यसलाई पुरा गर्न नगर सभाले बाटो खोलिदिने उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य बुढाथोकी, राधा थापा, नेपाली काँग्रेस मेचीनगरका सचिव मुकेश लिम्बू, नेकपा माओवादी केन्द्र मेचीनगरका इन्चार्ज पुष्प गुरागाई, जनता समाजवादी पार्टी मेचीनगर अध्यक्ष ओमप्रकास खापुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरकी अध्यक्ष सविना बजगाई लगायतले नगर सभाबाट निर्वाचनलाई प्रभावित नगर्ने गरी बजेट ल्याउने विषयमा नीतिगत निर्णय गर्न र छुटेका र अधुरा कामहरुलाई समयमै बजेट व्यवस्थापन गरेर सम्पन्न गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत नगरकी उपप्रमुख मिना पोखरेलले र सञ्चालन बरिष्ठ प्रसाशकिय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।
नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्व ६२ करोड ४६ लाख ९५ हजार १ सय रुपैयाँको संसोधित बजेट ल्याउने तयारी गरेको छ ।
गतवर्ष २०७७÷७८ मा १ अर्व ५३ करोड ६३ लाख २९ हजार ३५४ रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
यस आर्थिक वर्षमा गरिएका कामको समिक्षा, बजेट रकमान्तर तथा नीतिगत निर्णय गर्दै आगामी चैत १० गते नगरसभा सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।



