खबर

वैशाखभरि भर्ना अभियान सञ्चालन गरिने

विद्यालय बाहिर रहेका २ लाख विद्यार्थीलाई विद्यालय भित्र्याउने तयारी

ईश्वरराज ढकाल
काठमाडौं ।

विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई विद्यालय ल्याउन वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गरिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखभरि भर्ना गर्ने र जेठबाट कक्षा सञ्चालन गर्ने गरी सबै विद्यालयलाई पत्राचार गरेको छ ।

केन्द्रका महानिर्देशक चूडामणि पौडेलले बुधबार नेपाल समाचारपत्रलाई नियमित भर्ना हुनेबाहेक विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई समेत विद्यालय ल्याउने व्यवस्था गर्न वैशाख महिनाभरि भर्ना अभियान शुरू गर्न लागिएको जानकारी दिनुभयो । कोभिड–१९ का कारण लगातार दुई वर्षसम्म शैक्षिकसत्र धकेलिएको थियो । सरकारले विसं २०७९ को वैशाख २ गतेबाट भर्ना शुरू गरी वैशाखभर भर्ना गर्ने र जेठमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको हो ।

सरकारले हरेक वर्ष वैशाख १ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने गरेको थियो । महानिर्देशक पौडेलले भर्नासँगै विद्यार्थीको हातहातमा निःशुल्क पाठ्यपुस्तक पुर्याउने समेतको व्यवस्था गरेको जानकारी दिँदै भन्नुभयो– ‘जेठबाट नियमित कक्षा सञ्चालन भए पनि वैशाखमा पाठ्यपुस्तक पुर्याउने गरी निर्णय गरेका हौं ।’

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिडका कारण जेठबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेको थियो । केन्द्रले ‘सबै बालबालिका विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ भर्ना अभियान सञ्चालन गर्न लागेको हो ।

केन्द्रले भर्ना अभियानमा शिक्षाशास्त्र विषय अध्ययनरत् कक्षा ११ र १२ का विद्यार्थीलाई परिचालन गर्ने भएको छ । ती विद्यार्थीलाई प्रयोगात्मक कार्यको रूपमा आफ्नो घर छिमेकमा विद्यालय बाहिर रहेका वालबालिकाको लगत संकलन गर्ने, विद्यालय छाड्नुको कारण पत्ता लगाएर उनीहरूको समस्याबारे अध्ययन गर्ने, विद्यार्थी भर्ना गर्न घरदैलो, सडक नाटकजस्ता क्रियाकलाप सञ्चालन गर्न परिचालन गर्न निर्देशन दिइएको छ ।

स्थानीय एफएम रेडियोलगायत स्थानीय स्तरका सञ्चार माध्यमहरूबाट सकेसम्म स्थानीय भाषामा विद्यार्थी भर्नासम्बन्धी सचेतानामूलक सूचना, विज्ञापन प्रसारणको व्यवस्था मिलाउने व्यवस्था गर्न सम्बन्धित शिक्षा कार्यालयलाई निर्देशन दिएको महानिर्देशक पौडेलको भनाइ छ ।

उहाँले आफ्नै विद्यालयका बालबालिकाले विद्यालय बाहिर रहेका विद्यार्थीको अवस्थाबारे सजिलै पहिचान गर्नसक्ने भएकाले कक्षा ११ र १२ का विद्यार्थी परिचालन गर्न निर्देशन दिएको बताउनुभयो । केन्द्रले जारी गरेको निर्देशनमा गैरसरकारी संस्थालाई विद्यालय बाहिर रहेका बालबालिका पहिचान गर्न लगाउने, स्थानीय स्तरमा क्रियाशील गैरसरकारी संस्था र शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेका संस्थालाई विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्नेलगायतका विषय समावेश गरेको छ ।

केन्द्रले अघिल्लो वर्षमा अभिभावकत्व ग्रहण गरेका अभिभावको पहिचान गर्ने, उनीहरूले अभिभावकत्व लिएका बालबालिकाको अवस्थाबारे तथ्यांक राख्ने, पढाइका लागि सहयोग निरन्तर गर्ने अभिभावको लगत राख्ने लगायत विषयमा पनि निर्देशन दिएको छ ।

अभियानमा भर्ना भएका बालबालिकाको उमेरगत विवरण सहितको प्रतिवेदन सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने, आफ्नो क्षेत्रभित्र विद्यालय उमेरका शतप्रतिशत बालबालिकालाई समयमै विद्यालय भर्ना गराउन केन्द्रको निर्देशन छ । केन्द्रले विद्यार्थी भर्नाका लागि एक शिक्षकलाई सम्पर्क व्यक्ति तोकेर उनीसँगै सूचना संकलन गर्न सकिने पनि निर्देशनमा उल्लेख गरेको छ ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button