मूल खबर

केन्द्रदेखि स्थानीय तहसम्म अनुगमन संयन्त्र क्रियाशील

काठमाडौं ।

निर्वाचन आचारसंहिता पालना भएको वा नभएको हेर्न निर्वाचन आयोगले केन्द्रदेखि स्थानीय तहसम्म अनुगमन संयन्त्रहरुलाई क्रियाशील बनाएको छ ।

वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी आयोगले शुक्रबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो । निर्वाचन आचारसंहिता कडाइको साथ पालना गराउने र आचारसंहिताको उल्लंघन गर्नेलाई दण्ड सजाय र जरिवाना गराउने उद्देश्यले केन्द्रदेखि स्थानीयस्तरसम्म अनुगमन संयन्त्रलाई परिचालन गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।आयोगका केन्द्रमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा र निर्वाचन अधिकृतक संयोजकत्वमा ७ सय ५३ वटै स्थानीय तहमा विभिन्न संयन्त्रमार्फत निर्वाचन अनुगमन गर्ने तयारी गरिएको छ । अनुगमन संयन्त्रले आइतबारदेखि पूर्णरूपमा काम गर्नेछ ।

आयोगले आचारसंहिता उल्लंघनको प्रकृति र स्वरूप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानुनतः जरिवाना वा दण्ड सजायलाई कार्यान्वयन गर्नेतथा उम्मेदवारको उम्मेदवारी रद्द हुनेसम्मको कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ रहेको छ ।आचारसंहिता पालनाका लागि सबै सरोकारवालाले पूर्ण प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपाल समाचारपत्रसँगको कुराकानीमा आचार संहिताको पालना नभएको पाइएमा कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

आचार संहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचार–प्रसार गर्न रोक लगाएको छ । त्यसै गरी, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने साथै सामाजिक सञ्जालमा गलत भ्रामक सूचना प्रवाह गर्न, गराउन वा झुटा साइट, एकाउन्ट सञ्चालन गर्न वा गराउन नहुनुका अतिरिक्त कसैको चरित्र हत्या हुने गरी व्यक्तिगत लाञ्छना वा मानहानि हुने प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न प्रकाशन वा प्रसारण गर्न निषेध गरिएको छ ।

कुनै राजनीतिक दल वा उम्मेदवारले आफ्नो निजी वा आधिकारिक पेजमा आफ्नो सिद्धान्त, विचार, प्रतिवद्धता र कार्ययोजना राखी प्रचार–प्रसार गर्न सकिने नै हुँदा सामाजिक सञ्जालको उपयोगलाई मर्यादित र व्यवस्थित ढंगले परिचालन गर्न आयोग आग्रह गर्दछ ।सामाजिक सञ्जालबाट हुन सक्ने निर्वाचनसम्बन्धी तथ्यहीन, गलत, भ्रामक, अनुमानित र आचार संहिताविपरीत सूचना तथा जानकारीको संप्रेषण हुनेमा आयोगले विशेष सजगता अपनाएको छ । सामाजिक सञ्जालबाट संभावित मित्थ्या सूचना, दुस्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमन र नियन्त्रण गर्न विज्ञहरु सम्मिलित कार्यदल क्रियाशील रहेको पनि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

निर्वाचन आचारसंहिता विगतभन्दा फरक, विस्तृत र धेरै क्षेत्रलाई समेटिएको पनि आयोगले जनाएको छ । यसपटकको निर्वाचन आचार संहितामा राजनीतिक दल, उम्मेदवार मात्र नभई निजी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज मात्र नभई मतदाताका लागि पनि समेटेर आचार संहिता बनाइएको छ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button