
नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत डा रामसागर शाह एक कुसल र सफल सर्जनको रुपमा परिचित मेडिकल क्षेत्रको नाम हो । अस्पतालमा उपचारका लागि आउने बिमारी प्रतिको उनको स्नेही व्यवहारले समेत डा शाह परिचित समेत बनेका हुन । पछिल्लो समयमा नोबेल मेडिकल कलेजमा शुरु भएको मृगौला प्रत्यारोपण सम्बन्धी स्वास्थ्य सेवाका बारेमा चौतारी पोष्ट अनलाइनले डा रामसागर शाहसँग गरेको यो संक्षिप्त स्वास्थ्य वार्ता प्रस्तुत गरेका छौं ।
चौतारी पोष्टः डा साप पछिल्लो समयमा नोबेल मेडिकल कलेज विराटनगरमा मृगौला प्रत्यारोपण सम्बन्धी सेवा समेत सुचारु भएको छ । अहिले त्यहाँ यो सेवाको सञ्चालन कसरी अगाडी बढेको छ ?
डा रामसागरः धन्यवाद, तपाईले ठिकै भन्नु भयो । नोबेल मेडिकल कलेजमा अहिले हामी मृगौला प्रत्यारोपण सम्बन्धी स्वास्थ्य सेवा दिदै आएका छौँ । हामीले यो सेवा सञ्चालन गरे यता तिन जना विरामीको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरेका छौँ । पहिलो प्रत्यारोपण २०७८ भदौं २६ गते, दोस्रो २०७८ कार्तिक ५ गते र तेस्रो २०७९ बैशाख १६ गते गरेका थियौं । अहिले उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाम्रो कलेजमा यो सेवा शुरु भएदेखि अहिलेसम्म गरिएका मृगौला प्रत्यारोपण सम्बन्धी स्वास्थ्य उपचारका विषयमा भन्नु पर्दा पहिले र दोस्रो प्रत्यारोपणमा श्रीमतीहरुले श्रीमानलाई मृगौला दिनु भएको थियो भने तेस्रो प्रत्यारोपणमा आमाले छोरीलाई आफ्नो मृगौला दिनु भएको थियो । साथै मैले यो पनि भन्नै पर्छ कि मृगौला प्रत्यारोपणको यो स्वास्थ्य सेवाको हाम्रो मेडिकल टिमको नेतृत्व मैले गरेको थिए भने हाम्रो टिममा सर्जन डा जितप्रकाश श्रेष्ठ ,काठमाण्डुबाट आएको मेडिकल टिमको नेतृत्व डा प्रेमराज ज्ञवालीले गर्नु भएको थियो भने डा भोजराज लुईटेल, डा अर्चन अधिकारी, एनेस्थेसिया डा अञ्जु ओझा, डा निलम क्षेत्री, डा रुद्रविक्रम यसै गरि सिस्टरहरु मञ्जु शाही, कृष्टीना राजवंशी र डिना कोइराला हुनुहुन्थ्यो ।

चौतारी पोष्टः तपाई आफै एक जना कुशल र सफल सर्जनको रुपमा परिचित हुनुहुन्छ । कुनै बिमारीको अपरेशन सफल भएपछि व्यक्तिगत रुपमा तपाईलाई कस्तो महशुस हुन्छ ?
डा रामसागरः अत्यन्तै मार्मिक प्रश्न गर्नु भयो । कुनै पनि अपरेशन सफल भएपछि स्वभावैले विमारीको परिवारजन खुसी हुने गर्छ । तर त्यो भन्दा अघि नै हाम्रो अपरेशन थिएटरमा भएको मेडिकल टिम खुसी भएको हुन्छ । तपाईलाई आज एउटा मनको कुरो भनु भन्ने लाग्यो । त्यो के हो भने, अपरेशन गर्ने डाक्टरलाई अपरेशन पछि उसले के सम्झन्छ होला भन्ने लाग्न सक्छ । कुनै पनि एउटा बिमारी निको हुँदा अथवा अपरेसन सफल हुँदा त्यो खुसी हुने पहिलो व्यक्ति नै डाक्टर हुन्छ ।
चौतारी पोष्टः मृगौला प्रत्यारोपण सफल भएपछि तपाईहरु विमारीलाई घर पठाउनु त हुन्छ नै त्यस पछि उसको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पनि राख्नु हुन्छ कि राख्नु हुन्न ?
डा रामसागरः यो अत्यन्तै महत्वपूर्ण विषय हो । हामी कुनै पनि विमारीको मृगौला प्रत्यारोपण सफल भएपछि उसको स्वास्थ्य अवस्था हेरेर घरमा पठाउछौं नै तर यतिले मात्र हाम्रो जिम्मेवारी पुरा हुदैन । घर पठाई सकेपछि पनि उसको स्वास्थ्य अवस्थाका बारेमा आवश्यकता अनुसार हामी जानकारी लिने गछौँ ।र ,आवश्यक स्वास्थ्य सुझाव समेत दिने गरेका छौँ जस्तै इम्युनोसप्रेसिव औषधी सेवन गरीरख्न, संक्रमणबाट जोगिन सावधानी अपनाऊँन र केही समस्या पर्ने बित्तिकै तुरन्त हामीलाई सम्पर्क गर्न। जसरी हामीले तिन वटा प्रत्यारोपण सफल गरि सकेका छौँ ।उहाँहरुसँग हामी बारम्बार सम्पर्कमा रहने गरेका छौँ ।र, उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा आझका मितिमा पनि हामीले जानकारी लिने गरेका छौँ ।
चौतारी पोष्टः अन्तयमा डा सापका केही कुरा छन् कि ?
डा रामसागरः सर्वप्रथम त नोबेल मेडिकल कलेज विराटनगरले शुरु गरेको मृगौला प्रत्यारोपण सम्बन्धी स्वास्थ्य सेवाका बारेमा जानकारी गराउने जुन अवसर दिनु भयो यसका लागि चौतारी पोष्ट अनलाइन परिवारलाई धन्यवाद दिन चाहान्छु ।पूर्वाञ्चलमा पहिले पटक हामीले यो सेवा शुरु गरेका छौँ र हाम्रो अन्तरमन बाटै हामी चाहान्छौ कि कोही पनि हामी मृगौलाका रोगी बन्नु नपरोस् । साथै यस रोगबाट पिडित बिमारीहरुका लागि हामीले सेवा गर्न पाउँदा हामी खुसी छौँ । रोग लागि सकेपछि उपचार त गर्नु नै पर्छ फेरी पनि कोही पनि रोगी बन्नु नपरोस भन्ने कामना गर्दछु ।



