विचार
मौनता बिशेषणभित्रको एक बिशेषता हो। बिशेषताको आकार हुन्छ कि हुँदैन, भए कत्रो हुन्छ? ब्यक्तिको त्यो गुण दोषलाई व्याकरणले परिभाषित गरेको छैन। ब्यबहारले भने बारम्बार परिभाषित गरेको छ।
हिडिरहेको बाटो कसैले बर्जित गर्नु, गाइरहेको गीत कसैले रोक्नु र खाइरहेको जरुवा कसैले थुनिदिनु जन्मदैको बच्चालाई रुन रोक्नु जस्तै हो। नियमहरू बन्छन् भन्दैमा पानीको बहाव मास्तिर फर्किनुपर्ने नियम कसैले ल्याइदियोस् ।
त्यसैले बोलौं। नियमले कुनै छोटो चरणको खास सन्दर्भमा बोल्न रोकेको छ भने अरु सन्दर्भमा बोलौं।
जस्तो कि, हसिया बोकेको मान्छेले ढंग पुर्याएर रुख छिमल्छ भने जात बिशेषता अनुसार त्यो रुख झाङ्गिन्छ पनि, सुरिलो हुन्छ पनि। झाङ्गिए सितलता दिन्छ, फल दिन्छ, घाँससेउला दिन्छ। सुरिलो भए गतिलो लकडी दिन्छ। झाङ्गिए पनि, सुरिलो भएपनि अक्सिजन त दिन्छ नै।
यति हितकारी रुखमा तपाईं ऐंजेरु फैलिन दिनुहुन्छ भने त्यसले कुनै बिशेषता पुरा गर्दैन। त्यसको फलमा रस त हुँदन नै त्यो बढेर पनि जाँदैन। स्वादविहीन घाँससेउला पशु स्वास्थ्यका लागि समेत हानिकारक छ। त्यस्तो रुखबाट ऐंजेरु फाल्नुपर्छ वा ऐंजेरु ग्रस्त छ भने त्यसलाई ढालेर ताजा रुखका लागि नयाँ बिरुवा रोप्नुपर्छ।
कहिलेकाही भुइँकटहरले पनि रुख हुँ भन्ने दम्भ पाल्दछ। अल्प आयुको त्यो बोटले एक फल त जमिनमुनि दिन्छ भने फैलने के कुरा? एकचरणको फल लाग्दा नलाग्दै त्यसको सम्पुर्ण जीवन समाप्त हुन्छ। टेक्ने लौरोले पनि म रुखकै उत्पादन हुँ भन्दिन्छ, कहिलेकाही। तर, निर्जीव त्यो बिचरा जसले जताजता हल्लायो, त्यतैत्यतै नाचिदिन्छ।
महान प्रगतिवादी चिन्तकहरूले मजदुर संगठन र संघर्ष नै बर्गीय मुक्तिको प्राथमिक सर्त हो भनेका छन्। सर्बहारा मजदुर, जो श्रमको अनिबार्यतामा मात्र बाँच्दछ र परिवारको जोहो समेत टारेर संघर्षको समय मिलाउँछ, उसंग प्रायः हुने हतियार हथौडा नै हो। दोस्रो श्रमशक्ति मानिएको किसानसंग प्रायः हुने हँसिया नै हो। ती दुबै शक्तिलाई संघर्षमा एकाकार गर्ने बैज्ञानिक बिश्व दृष्टिकोणले हो। बौद्धिक चिन्तन र योजनाले हो। त्यो चिन्तन र योजनालाई लिपिबद्द गर्ने कलमले लेखेर हो। परिस्थितिबस एक गिलास चिया वा पानीका भरमा पनि कर्ममा त्यस चेतनाको मान्छे यत्नशील भैराख्छ। पाए छाता ओडेर गन्तव्य छिचोल्छ, पानी पर्यो वा घाम चर्कियो भन्दैमा यात्रा रोक्दैन।
पिन्जरामा सुगा पाल्नेहहरूले एक स्वतन्त्र पंक्षीलाई कैद गरेका मात्र हुँदैनन्, त्यसलाई स्वाभिमानबिरुद्ध गुलाम बनाएका हुन्छन्। बोलीको तालिम दिएर एउटै कुरा रटाउन लगाउँछन्। जस्तो कि, तिनले त्यसलाई सिकाउँछन् कि सूर्यले मात्र संसार थामेको छ। सूर्यका अगाडि पानी, खेती, श्रम, खेती र श्रमका औजार, बौद्धिक मन्थन, दुर्लभ यात्रा र रुखबिरुवा भन्ने त केही होइनन्।
बिचरा सुगालाई के थाहा, उ त सिकाएको रट्ने त हो। सुगालाई के सम्म सिकाउँछन् भने पुतली समेत मात्र सूर्यकै प्रतापले जन्मिएको हो। सुगाले रटेको कुरा त सुनिन्थ्यो, उडाइन्थ्यो । ताजुब कतिबेला लाग्ने भने पुतलीले समेत हो, हो मेरो एकमात्र जन्मदाता सूर्य होु भनेपछि। कुन बिशेषताले सूर्य र पुतली मिलेका वा मिल्नेहोलान्? तोड्नेहरूले तोड्यौं भन्दैमा बिज्ञान तोडिन्छ र?
प्रकृति त आफ्नै गतिमा छ, प्रकृति आफैंमा बिज्ञान हो। चेतनाले, बैज्ञानिकताले र कर्मपथले मात्र प्रकृतिसंग प्रगतिको सम्बन्ध हुनसक्छ। तर सुगा पालेर प्रकृतिलाई चुनौती दिनेहरूसंग भने सधै सचेत हुनुपर्छ। ती अल्छि मात्र हुँदैनन्, ठग पनि हुन्छन्। सुगारटाईमा ब्यस्त भएका र प्रगतिमा सिन्को नभाँचेकाले प्रगतिबाटै सक्दो लुट गर्ने र अन्ततः प्रगतिलाई नै एम्वुसमा पार्ने।हो, प्रतिगामी प्रवृत्ति भनेको यही हो।
प्रकृतिको बिशेषता र मानव क्षमताको मिश्रणबाटै बिकास जन्मिन्छ। त्यसलाई सरल र जीवन उपयोगी बनाउन दृष्टिकोण चाहिन्छ। कुशलता चाहिन्छ। संसारको आजसम्मको इतिहास बर्गसंघर्षको इतिहास हो भने आजसम्मको बिकास बिज्ञानको नियम हो। बिज्ञानको नियम नै प्रगतिको नियम हो। प्रगतिउन्मुख समाज चरित्र बनाउने भनेको तपाईंहामीले हो, बैज्ञानिक चेतनाले हो।
मौनताले प्रगति रोक्न रोक्दैन, बरु त्यो सोचलाई आधारिलो र दीगो बनाउँछ। बोल्नु त छँदैछ तर मौनताको आकारप्रकारलाई भोलिका लागि सोचगम्य र बिशाल बनाउनु अनिवार्य छ। स्थानीय चुनावको मौन अबधि र नेतृत्व चयन गर्ने यो सन्दर्भ, तपाईंहाम्रा लागि बहुत सोचनीय छ।



