खबर

“देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट लागु गर्ने निर्णय तुरुन्त खारेज गरियोस्”

मेचीनगर । विश्व हिन्दू परिषद् नेपालले एक विज्ञप्ति मार्फत इम्बोड नम्बर प्लेट खारेजीको माग गरेको छ । परिषद्को तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ—सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गरी इम्बोस्ड नम्बर प्लेटको जडान गर्ने सम्बन्धमा सरकारले गरेको असंवैधानिक र अव्यावहारिक निर्णयप्रति विश्व हिन्दू परिषद् नेपाल गम्भीर आपत्ति प्रकट गर्दछ। नेपालको संविधान २०७२ को धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ । विगत केही वर्ष अगाडि पनि तत्कालिन सरकारले इम्बोस्ड नम्बर प्लेटको प्रयोग गर्न खोज्दा सम्माननीय सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् इम्वोस्ड नम्बर प्लेटको कार्यान्वयनमा रोक समेत लगाएको थियो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले १० फागुन २०७४ मा इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको थियो ।

नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धरासायी बनाउने उद्देश्यसहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गरिनु नेपाली भाषामाथिको ठाडो प्रहार हो । देवनागरीमा लेखिएको नम्बर प्लेटलाई हटाएर अनिवार्य रूपमा अङ्ग्रेजी इम्बोस्ड नम्बर प्लेट लादन खोजिनु भनेको नेपाल र नेपालीका लागि अत्यन्तै दुर्भाग्यपूर्ण हो । नेपाल सरकार यातायात विभागको निर्देशनले भने जसरी भए पनि नेपाली भाषालाई विस्तारै विस्थापित गर्ने बाह्य षड्यन्त्रलाई नेपालका वर्तमान सरकारका नेतृत्व गरिरहेका राजनीति नेतृत्वहरूले पूर्ण रूपमा साथ दिनु अत्यन्तै चिन्ताजनक एवं गम्भीर विषय हो ।

निजी स्वार्थसिद्धिका लागि राष्ट्र विरोधी तत्वको प्रभावमा परी देशको भाषा र संविधानको मर्म माथिनै कुठाराघात गरिरहेको तथ्य नेपाली जनतालाई कदापी सह्य हुने छैन तसर्थ जनभावनाको कदर गर्दै यस्तो राष्ट्रहित विपरितको निर्णय तुरुन्त रद्द गरी नेपाली भाषा–देवनागरी लिपिमा नम्बर प्लेट छाप्ने व्यवस्थालाई यथावत् राख्नका लागि विश्व हिन्दू परिषद् नेपाल सरकार तथा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button