एजेन्सी – इंग्लिस मिडफिल्डर डेल अलीले दोस्रो हाफमा दुई गोल गरेपछि एभर्टनले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा रोमाञ्चक जित निकालेको छ ।
एभर्टनले च्याम्पियनसिप क्लब ब्ल्याकपुलमाथि ४–२ को रोमाञ्चक जित निकालेको हो । एभर्टनको जितमा अलीले दुई तथा भिटाली माइकोलेन्को र टोम डाभिसले गोल गरे । ब्ल्याकपुलका गारे माडिन र क्यालुम कोन्नोलीले गोल फर्काए ।
ब्ल्याकपुलमा आइतबार राति भएको खेलको छैटौं मिनेटमा भिटाली माइकोलेन्कोको गोलबाट शुरुवाती अग्रता लिएको थियो । १०औं मिनेटमा टोम डाभिसले गोल गर्दै एभर्टनको अग्रता दोब्बर पारे ।
४४औं मिनेटमा गारे माडिनले गोल गरेपछि पहिलो हाफ २–१ को स्थितिमा पुग्यो । ४७औं मिनेटमा डेल अलीले गोल गर्दै एभर्टनलाई ३–१ ले अघि बढाए । ५०औं मिनेटमा क्यालुम कोन्नोलीले गोल गर्दै ब्ल्याकपुललाई ३–२ को स्थितिमा ल्याए ।
त्यसपछि ६४औं मिनेटमा डेल अलीले गोल गर्दै टोलीलाई जित दिलाए । प्रि–सिजनमा एभर्टनको यो पहिलो जित हो । यसअघि एभर्टनले आर्सनल र मिनेसोटासँग हार बेहोरेको थियो ।हाम्रो खेलकुदबाट ।



