खेलकुद

सानदार जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा

एजेन्सी – स्वीडेनमाथि सानदार जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डको फाइनल यात्रामा बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले गोल गरिन् । पहिलो हाफमा १–० को अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

एकपक्षीय बनेको खेलमा इंग्ल्यान्डले सुरुवाती गोलको लागि ३४औं मिनेटसम्म कुर्नुपरेको थियो । शीर्ष गोलकर्ताको दौडमा रहेकी बथ मिडले लुसी ब्रन्जको पासमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । उनले यस युरोमा ६ गोल गरिसकेकी छिन् ।

इंग्ल्यान्डको दोस्रो हाफको शुरुमै अग्रता दोब्बर पार्न सफल भयो । ४८औं मिनेटमा लुसी ब्रन्जले बथ मिडको पासमा हेडमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् । ६८औं मिनेटमा एलेसिया रुसोले गोल गरेपछि इंग्ल्यान्ड सहज जिततर्फ अग्रसर बन्यो । ७६औं मिनेटमा फ्रान किर्विले बथ मिडकै पासमा गोल गर्दै इंग्ल्यान्डलाई फराकिलो जितसहित फाइनलमा पु¥याइन् ।

महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो । तर, इंग्ल्यान्ड पहिलो संस्करणमा स्वीडेनसँग टाइब्रेकरमा ४–३ ले तथा २००९ मा जर्मनीसँग ६–२ ले पराजित हुँदै उपाधि विमुख बनेको थियो ।

अब इंग्ल्यान्डको उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग साउन १५ मा प्रतिस्पर्धा गर्नेछ । यि दुई टोलीले आज राति फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button