
एजेन्सी – सर्वाधिक ८ पल्टको च्याम्पियन जर्मनी महिला युरो च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सलाई २–१ ले पराजित गर्दै फ्रान्स नवौंपटक फाइनलमा प्रवेश गरेको हो ।
इंग्ल्यान्डमा बुधबार राति भएको खेलमा जर्मनीको जितमा एलेसान्द्रा पोपले दुवै गोल गरिन् । फ्रान्सले उपहार गोल पाएको थियो ।
प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा एलेसान्द्रा पोपको गोलबाट जर्मनीले सुरुवाती अग्रता लिन सफल भयो । उनले सेभेन्जा हथको पासमा गोल गर्न सफल भएकी थिइन् । ४४औं मिनेटमा मर्ल फ्रम्सले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीको स्थितिमा पुगेको थियो ।
तर त्यसपछि ७६औं मिनेटमा एलेसान्द्रा पोपले सेभेन्जा हथकै पासमा गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् । त्यसपछि थप गोल निस्कन नसक्दा जर्मनी विजयी हुन सफल भयो ।
१२औं संस्करण जारी रहँदा जर्मनी नवौं पटक फाइनलमा प्रवेश गर्न सफल भएको हो । जर्मनी फाइनल प्रवेश गरेको सबै आठैपटक च्याम्पियन टोली हो । जर्मनी १९८९, ९१, ९५, ९७, ०१, ०५, ०९ र १३ को च्याम्पियन हो ।
अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । फाइनल साउन १५ गते राति हुनेछ । यसअघि इंग्ल्यान्डले स्वीडेनलाई ४–० ले पराजित गर्दै महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको छ ।
यसअघि इंग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो । तर, इंग्ल्यान्ड पहिलो संस्करणमा स्वीडेनसँग टाइब्रेकरमा ४–३ ले तथा २००९ मा जर्मनीसँग ६–२ ले पराजित हुँदै उपाधि विमुख बनेको थियो ।हाम्रो खेलकुदबाट ।



