खेलकुद

लिभरपुल र युनाइटेडको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार चिर परिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल १-१ को बराबरीमा टुंगिएको छ ।

युनाइटेडको घरेलु मैदानमा लिभरपुलले अन्तिम समयमा गोल गर्दै हार टारेको हो । यससँगै लिभरपुलले जारि सिजन शत प्रतिशत जितको सिलसिलालाई भने निरन्तरता दिन सकेन । लगातार १८ औं लिग जितको लक्ष्यमा रहेको लिभरपुलले अंक बाँड्दै अपराजित यात्रालाई भने निरन्तरता दिएको छ ।

खेलको ३६ औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ड्यानीएल जेम्सको क्रसलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा नै लिभरपुलका लागि साडियो मानेले गोल गरेका थिए । तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को निर्णयअनुसार उक्त गोल ह्याण्डबल भएका कारण मान्य हुन सकेन ।

खेल सकिन ५ मिनेट बाँकी रहँदा लिभरपुलले गोल फर्काएको थियो । एन्डी रोबर्टसनको क्रसमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका एडम लाल्लानाले बराबरी गोल फर्काएका थिए । थप समयमा गोल हुन नसक्दा लिभरपुलले शीर्षस्थानमा अग्रता बनाउने अवसर गुमायो । लिभरपुल प्रिमियर लिगमा ९ खेलमा २५ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ अंक रहेको छ । म्यानचेस्टर युनाइटेड ९ खेलमा १० अंकसहित १३ औं स्थानमा रहेको छ ।

लिभरपुलले अब च्याम्पियन्स लिगअन्तर्गत बुधबार गेन्कको घरेलु मैदानमा खेल्नेछ । युनाइटेडले बिहीबार युरोपा लिगमा पार्टीजान बेलग्रेडसँग प्रतिस्पर्धा गर्नेछ ।hamrokhelkudonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button