
गोरखापत्र अनलाइन
काठमाडौं । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरी प्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
नेता गिरीको निधनको खबरले अत्यन्त दुखी बनाएको र हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत बताउनुभएको छ । उहाँले शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
नेताहरुबाट पनि समावेदना
नेता गिरीको निधनप्रति नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्धारा श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । चिन्तनशील राजनीतिकर्मीको निधनबाट मर्माहत भएको उहाँले बताउनु भएको छ । अध्यक्ष ओलीले उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
नेता गिरीको निधनप्रति नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । नेपाली राजनीतिक वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तकलाई गुमाएको भन्दै उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
त्यसै गरी नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले गिरीको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । नेपाली राजनितीका अग्ला व्यक्तित्व, समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता गिरिको निधनले स्तब्ध र मर्माहत बनाएको उहाँले बताउनुभयो ।
नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा प्रदिप दाईले पुर्याउनु भएको योगदानको जति नै चर्चा गरेपनि अधुरै रहने उहाँको भनाई छ । नेता कोइरालाले शोकाकुल यस समयमा समस्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।



