कृषि र किसान

तरकारीमा लाग्ने गाँठे रोग, लक्षण र रोकथामका उपाय

केही वर्ष पहिलेसम्म काठमाडौँ उपत्यकाको काउली र बन्दामा देखिएको गाँठे रोग अहिले देशका धेरै जिल्लाका धेरैथरी बालीमा फैलिएको छ।

गाँठे रोग झण्डै ४० जिल्लामा फैलिएको कृषि विभागअन्तर्गतको प्लान्ट क्वारेन्टाइन कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए । अहिले किसानले लगाएको काउली, बन्दा, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगमलगायत बालीमा समेत गाँठे रोगको संक्रमण फैलिएको छ । बन्दा, काउली फक्रेर बजारमा पठाउने बेलामा रोगले आक्रमण गरेको र बारीमै कुहिन थालेको

डेढ दशकअघि काभ्रेको पाँचखालमा देखिएको यो रोग सघन तरकारी उत्पादन क्षेत्रमा फैलँदै आएको छ। तेह्रथुम, धनकुटा, संखुवासभा, काभ्रे, धादिङ, इलाम, धनकुट्टा, मकवानपुरको पालुङ, चितवन, मकवानपुर, नवलपरासी नुवाकोटसहित ४० जिल्लाका किसानले लगाएको तरकारी बारीमै कुहिन थालेको छ । यी क्षेत्रका किसानले लगाएको तरकारीमा क्लबरुट अर्थात् गाँठे रोगको संक्रमणका कारण बारीमै कुहिन थालेको हो। तीन वर्षअघि पनि यस क्षेत्रको तरकारीमा क्लबरुटको प्रकोप देखिएको थियो । नेपाल कृषि अनुसन्धान परिषद् नार्कको बाली रोग विज्ञान महाशाखा खुमलटारले किसानका बारीमै आएर अनुसन्धान गरेको थियो ।

“झण्डै १५ वर्ष पहिले छिटफुट देखिएकामा अहिले यो समस्या व्यापक बनिसकेको छ”, उनले भने, “त्यतिबेला नियन्त्रण गर्न सक्ने अवस्थामा भए पनि अहिले यो समस्या व्यापक बनिसकेको छ ।” पहिले काठमाडौँ उपत्यकामा देखिएको यो समस्या उपत्यका नजिकका जिल्ला हुँदै अहिले पूर्वपश्चिम सबैतिर फैलिएको खरेल बताउँछन् ।

अहिले यो समस्या रायोलगायत तरकारीमा समेत देखिन थालेको र बीउ, बिरुवासँगै माटाबाट रोग फैलिएको उनी बताउँछन् । उनी भन्छन्, “हाम्रोमा माइतीरमावलीबाट कोसेलीका रुपमा बिरुवा लाने चलन छ तर बिरुवासँगै रोग पनि लगिरहेका हुन सक्छौँ । बालीमा सर्ने रोगका बारेमा किसानमा सचेतना पाइँदैन । ”

देश बाहिरबाट बीउ वा बिरुवा ल्याउँदा र यहाँबाट विदेश लैजाँदा स्वस्थता प्रमाणित गर्नुपर्ने नियम छ । बाली संरक्षण निर्देशनालयअन्तर्गतको सो कार्यालयले देशका १६ नाकामा रहेका कार्यालयबाट स्वस्थता प्रमाणपत्र दिँदै आएको छ । गाँठे रोग लागेपछि व्यवस्थापन गर्न कठिनाई हुने भएकाले बेलैमा सचेत हुन वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले सुझाव दिए ।

दुई वर्षसम्म नदेखिएको यो रोग यस वर्ष फेरि देखापरेको छथर गाउँपालिका–१, आङ्दिमका किसान टीका लिम्बूले बताए । सुरुमा बन्दाकोपीमा मात्रै देखिएको प्रकोप अहिले अन्य बालीमा समेत देखिन थालेछि किसान चिन्तित भएका छन् ।

लक्षण :

यो तरकारीको जरामा गाँठा पर्ने रोग हो । यो रोग काउली जातको तरकारीको लागि निक्कै हानिकारक मानिन्छ । यो रोग काउली, बन्दा, ब्रोकाउली, मला, ग्याँठकोबी, तोरी, चम्सुर र रायो बालिमा लाग्ने गरेको छ । यसपटक यो रोग लागेपछि नियन्त्रण गर्न प्राय असम्भवजस्तै हुन्छ । यो रोगको जीवाणु प्लाज्मोडिओफोरा ब्रसिकल वोरोनिन माटोमा २० औं बर्षसम्ममा जीवित रहने हुनाले नियन्त्रण गर्न कठिन छ ।

माटोमा अम्लीयपन बढ्यो भने गाँठे रोग फैलिन्छ त्यसैले बाली लगाउनु अघि नै एक पटक माटोको जाँच गराई रोग देखिए चुना छर्नू पर्ने सुवेदीले बताए । बिरुवा बढ्दै गएपछि माटोमुनिको काण्ड र जरामा मुलाजस्तो गाँठो पलाउने र पछि कालो भएर मर्ने समस्यालाई विज्ञहरूले क्लबरुट भन्ने गरेका छन्। यो रोग लागेपछि बोटबिरुवा होचो हुने, कमजोर हुने, पातहरु केही सुकेको, बीच बीचमा नुहेको, बोट र पातहरु पहेंलो जस्तो देखिन्छ ।

यो रोग विशेष गरी माटो बाटै फैलिने भएकाले रोग लागेका जमीनमा प्रयोग गरीएका कृषि औजार सफा नगरी बाली लगाएको अर्का ठाउँमा प्रयोग गर्नु हुँदैन । बिहानीपख वा कमलो घाम लागेको समयमा त्यस्ता रोगी बोटहरु स्वस्थ्यजस्तै देखिन्छ । तर चर्को घाम लाग्दै गएपछि बोटविरुवा ओइलाउँदै जान्छ । यस्ता रोग लागेको बोटविरुवा उखेलेर हेर्दा मूल जरामा गाँठा या डल्ला बनेका हुन्छन् । यस्तै सहायक जरामा पनि स साना औंलाजस्ता जराहरु बनेका हुन्छन् । मसिना साधारण जराहरु नगण्य परिमाणमा हुन्छन् । रोग लागेपछि बोटबिरुवाहरु केही समयपछि गाँठा कुहिएर बोटहरु मर्न थाल्छन् । अन्त्यमा गएर बाली नै नोक्सानी हुने गर्छ ।

देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा भने सो नियम लागु हुँदैन । यसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा रोग तथा कीरा फैलिएर किसानले हैरानी बेहोरिरहेका छन् ।

रोकथामका उपाय :

रोगमुक्त बेर्ना लगाउने । रोग फैलिएको क्षेत्र र स्थानबाट बेर्ना कुनै पनि अवस्थामा प्रयोग गर्नु हुँदैन् । रोगमुक्त बेर्ना उत्पादन गर्नका लागि तरकारीको व्याडमा ३ हप्ता पहिले नै १ किलो प्रति वर्गमिटरका दरले कृषि चुन हाली प्रसस्त मात्रामा कम्पोष्ट मलको प्रयोग गरी माटोमा मिलाउनुपर्छ । चर्को घाम लागेको बेलामा सोलाराइजेसन पछि मात्रै तरकारीको बीउ राख्नुपर्छ ।

खेतवारीको माटोको पिएच ६.५ देखि ७.२ सम्म पुरयाउन आफनो खेतवारीको माटोमा कृषि चुन प्रयोग गर्नुपर्छ । रोग लागेको खेत भएर बगेको पानी पनि सिंचाईको लागि प्रयोग नगर्ने । रोगी जरा प्रयोग गरी बनाइएको कम्पोष्ट मल र रोगी जरासहितको बोट खुवाइएको गाई बस्तुको मल पनि प्रयोग नगर्ने । तरकारीको बेर्नाहरु छिप्पीएको प्रयोग नगर्ने अर्थात सात हप्ताभन्दा कम उमेरको बेर्ना प्रयोग गर्नु हुँदैन् । एउटै वाली सधै नलगाएर घुम्ते वाली लगाउने बानी बसाल्ने । अग्लो ड्याँगमा बाली लगाउने र कम्पोष्ट मलको प्रयोग गर्नुपर्छ । सरसफाईमा भने बिशेष ध्यान दिनुपर्छ । रोगग्रस्त क्षेत्रमा प्रयोग गरिएका कृषि औजारहरु पूर्ण रुपमा सफा गरी राख्नुपर्छ ।

कस्ता औषधी प्रयोग गर्ने ?

यस्तो रोगबाट बालीलाई जोगाउन सकेसम्म बिषादीको प्रयोग नगर्ने । गर्नुपरेमा प्रमाणिकरण गरिएका कम बिष भएका बिषादीको प्रयोग गर्न सकिन्छ । गाँठे रोगको लागि नेविजिन ०.३ प्रतिशत नामक बिषादी १० किलो प्रति रोपनी वा डेढ कट्ठा जग्गाको दरले जग्गा तयार गर्ने बेलामा माटोमा राम्रोसँग मिसाउनुपर्छ । यदी नेविजिन नपाएमा बेर्ना सार्ने वेलामा बेर्नाहरुलाई बन्लेट ५ ग्राम प्रतिलिटर पानीमा मिलाइएको घोलमा १५ देखि २० मिनेटसम्म बेर्नाको जरा डुबाएर मात्र सार्नुपर्छ ।

बन्लेट पनि नपाइएको अवस्थामा बेभिष्टिन २ ग्राम प्रतिलिटर पानीको घोलमा डुवाउनुका साथै सोही घोल करिब आधा चौथाई प्रत्येक बोटको फेदको वरीपरी खन्याउने । बेभिष्टिन पनि नपाएको अवस्थामा ट्रिकर्डमा भाइराइड युक्त वाओ फन्गिंसाइड प्रयोग गर्न सकिन्छ । रोगको संक्रमण भएको जमिनमा बेनोमाइल विषादी पाँच एमएलका दरले एक लिटर पानीमा मिसाई माटोको उपचार गर्न विज्ञले सुझाव दिएका छन्।

यस्तो समस्या देखिएमा रोगी बिरुवा हटाउने, जीवाणुरहित नर्सरीको बिरुवा प्रयोग गर्ने, माटोको पीएच घटाएर सात दशमलब दुईसम्म पु¥याउनु पर्छ ।

स्रोत : कृषि सूचना तथा सञ्चार केन्द्रको कृषि डायरी krishipatrikaonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button