
खेमराज सापकोटा
रानी (विराटनगर), वैशाख ७ गते । झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो ।
उपाधिसँगै झापाले ११ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपियाँमा चित्त बुझायो । यसअघि २०७१ सालको संस्करणमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलोपटक यो प्रतियोगिता जितेको थियो ।
झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गर्नुभयो । सम्राटकातर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काउनुभयो । प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको ८१ औं मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको हो । गोलरक्षक विशाल सुनारले प्रहार गरेको लामो पासलाई राजेशले गोलमा परिणत गर्नुभएको थियो ।
झापाले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै दिवस उराउले गोल गर्दै टोलीको जित सुनिश्चित गर्नुभयो । उहाँले फागुराम थारूको पासमा गोल गर्नुभएको हो ।
खेलको थप गरिएको (इन्जुरी) समयमा सम्राटका सौरभ तामाङले गोल गर्दै २–१ गोलले अन्तर घटाए पनि हार टार्न सक्नुभएन ।
फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ झापाका राजेश दाहाल घोषित हुनुभयो । उहाँले नगद ११ हजार रुपैयाँ प्राप्त गर्नुभयो । प्रतियोगिताको विधागत पुरस्कारमा पनि झापाकै वर्चस्व रह्यो । झापाका फागुराम थारू ‘हाइ स्कोरर’ (सर्वाधिक गोलकर्ता) बन्नुभयो ।
सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुँदै नगद ५१ हजार रुपियाँ पाउनुभयो । यस्तै, झापाका विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उहाँहरूले जनही १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, कोशी प्रदेशको वन, पर्यटन तथा बातवरण मन्त्री भिम पराजलुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गर्नुभयो । चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका टोलीसहित ८ टिमको सहभागिता थियो ।गोरखापत्र अनलाइन



