मूल खबर

पानी उद्योगमा समस्या

काठमाडौँ, वैशाख ७ गते । नेपाल पानी उद्योग महासङ्घले पानी उद्योगमा बोतल र जार उत्पादनका लागि प्रयोग गर्ने कच्चा पदार्थको ४० प्रतिशत मूल्यवृद्धि भए पनि त्यो परिमाणमा पानीको मूल्यवृद्धि नहुने स्पष्ट पारेको छ । महासङ्घले पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थको मूल्यवृद्धिको अनुपातमा जार र बोतलमार्फत बिक्री हुने पानीको मूल्यवृद्धि नहुने स्पष्ट पारेको हो । महासङ्घका अध्यक्ष विक्रम लिम्बू चेमजोङले पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थको मूल्य ४० प्रतिशतसम्म बढेकाले त्यसको मूल्य समायोजन गर्नुपर्ने माग आफूहरूको रहेकोमा गलत प्रचार भएको टिप्पणी गर्नुभयो । पानीको मूल्य त अहिले पनि प्रतिलिटर २० रुपियाँ नै रहने भन्दै उहाँले भन्नुभयो, “पानीको मूल्य बढ्दैन, पानी उद्योगमा प्रयोग हुने पानीबाहेकका वस्तुको मूल्य समायोजन हुनु पर्छ भन्ने माग गरेका हौँ ।”

प्रतिबोतल पानीको मूल्य १६ रुपियाँबाट २० रुपियाँ र प्रतिजारको मूल्य ४७ रुपियाँबाट ५५ रुपियाँसम्म उपभोक्ता मूल्य हुन सक्ने अध्यक्ष चेमजोङको भनाइ छ । पश्चिम एसियामा जारी तनावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदा पानी उद्योगमा चाहिने बोतल, क्याप, ¥यापिङ रोल, जार, जार क्यापलगायतका कच्चा पदार्थको ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको दाबी उद्योगीलेगर्दै आएका छन् ।

महासङ्घका अनुसार पानीमा प्रयोग हुने कच्चा पदार्थ आयात गर्न तीन महिनादेखि प्रतीतपत्र (एलसी) नखुलेको र मुलुकमा कच्चा पदार्थ मौज्दात नगण्य मात्रामा रहेको छ । महासङ्घले गत चैत ९ मै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जार/बोतलको पानीको मूल्य समायोजन गर्न आग्रह गरेको छ । महासङ्घले प्रतिबोतल

काठमाडौँ उपत्यकाभित्र २० रुपियाँ र उपत्यकाबाहिर २५ रुपियाँ बनाउनुपर्ने भनेको थियो भने प्रतिजार ६० रुपियाँ र उपत्यकाबाहिर ८० रुपियाँ बनाउन आग्रह गरेको थियो ।

काठमाडौँ उपत्यकामा मात्रै दैनिक तीन लाख ५० हजार थान जार र ४० हजार कार्टोन (प्रतिकार्टोन १२ बोतल) बोतलको पानी माग छ । बजारमा १० लाखभन्दा बढी जार रहे पनि तिनका लागि आवश्यक पर्ने नयाँ बिर्को र सिल बनाउने कच्चा पदार्थ सकिएकाले आपूर्ति प्रणालीमा अवरोध आएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार दैनिक तीन लाख ५० हजार बिर्कोको माग पूरा गर्न सक्ने क्षमता अहिले उद्योगसँग नभएको उद्योगीले बताउँदै आएका छन् ।

महासङ्घका अनुसार देशभर खानेपानीका जार, बोतलको पानी उत्पादनका लागि दर्ता भएर सञ्चालनमा रहेका कम्पनीको सङ्ख्या छ सय रहेकोमा उपत्यकामा मात्रै दुई सय उद्योग छन् । काठमाडौँ उपत्यकामा मात्रै बोतलको पानी उत्पादन गर्ने उद्योग ३० वटा सञ्चालनमा छन्। २० लिटरको जारको पानी उत्पादन गर्ने उद्योग करिब १७० वटा छन् । ती उद्योगमार्फत ३० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आएको र त्यसमा १६ अर्ब रुपियाँभन्दा बढी लगानी रहेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button