
एजेन्सी – इंग्लिस क्लब लिभरपुलले ब्राजिली मिडफिल्डर आर्थर मेलोलाई क्लबमा अनुबन्ध गरेको छ । लिभरपुलले मेलोलाई इटालियन क्लब युभेन्ट्सबाट एक सिजनका लागि लोनमा आबद्ध गरेको हो ।
उनी यस सिजनको अन्त्यसम्म क्लबमै रहनेछन् । २६ वर्षीय मेलोले गत सिजन युभेन्ट्सका लागि ३१ खेल खेल्दा यो सिजन कुनै पनि खेल खेलेका छैनन् ।
लिभरपुलमा आबद्ध भएपछि आर्थरले विश्व फुटबलमा धेरै प्रतिनिधित्व गर्ने यो प्रसिद्ध क्लबको जर्सी लगाउन पाउँदा खुशी रहेको बताएका छन् ।
‘म साँच्चै खुसी छु र लिभरपुलको जर्सीमा मेरो सबै कुरा दिनको लागि धेरै उत्प्रेरित छु ।’ आर्थरले थपे । लिभरपुलले चोटका कारण पछिल्लो समय मिडफिल्डमा समस्या बेहोरीरहँदा आर्थरलाई क्लबमा अनुबन्ध गरेको हो । तर आर्थर आँफै दुवै घुँडाको समस्याबाट पीडित छन् ।
लिभरपुलसँग फाबिन्हो, हार्वे इलिएट, फाबियो कार्भाल्हो र कर्टिस जोन्स रहेका छन् । कप्तान जोर्डन हेन्डरसन न्यूक्यासल युनाइटेडलाई २–१ ले पराजित गरेको खेलमा चोट बोकेका छन् ।
उनले कम्तीमा पनि एक खेल गुमाउनेछन् । हेन्डरसनसँगै थियागो अलकान्तरा, नाबी केइटा र एलेक्स अक्सलेड–चेम्बरलेनले चोट बोकेका छन् ।
ब्राजिलबाट २२ पटक क्याप गरेका आर्थरले एलिसन बेकर र फरवार्ड रोबर्टो फिर्मिनोसँग मिलेर २०१९ को कोपा अमेरिका जितेका थिए।हाम्रो खेलकुदबाट ।



