खबर

बढ्यो विशिष्ट कक्षको दुरुपयोग

दुई विवादास्पद घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोगका लागि माग गरिएको र त्यसैमा स्वीकृति प्रदान गरिएका दुई पत्र ।

मित्र भण्डारी
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष दुरुपयोग हुने गरेको छ । भनसुन, चिनजानका आधारमा पहुँचवालाबाट विशिष्ट व्यक्तिलाई आमन्त्रण गर्ने र त्यसैको आडमा विशिष्ट कक्ष दुरुपयोग बढेको छ । गत जेठको अन्तिमदेखि भदौ १७ सम्म दुई महिनामा यस्तै दुईवटा घटना सार्वजनिक भएका छन् । यी सार्वजनिक भएका ठूला घटनामात्र हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अधिकारी आफूहरूले सम्हाल्नै गाह्रो हुनेगरी विशिष्ट कक्ष प्रयोगका लागि अनुमति माग भई आउने गरेको बताउँछन् । यस्ता घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको छ ।

शुक्रबारमात्र उक्त विशिष्ट कक्ष प्रयोग गरी एक अभियुक्त फरार भए । फरार गराउन संवैधानिक आयोगका अध्यक्ष नै संलग्न भएको सार्वजनिक भएको छ ।संयुक्त अरब इमिरेट्स (यूएई) अरब संसद्का उपाध्यक्ष अरब मोहम्मद अहमद मोहम्मद अहमद अल यामाहीसहित तीनजना संसद्को टोली शुक्रबार नेपाल भ्रमणमा आएको थियो । मुस्लिम आयोगको निमन्त्रणमा आएको टोलीमा सुनसरीका रिजवान आलमले विशिष्ट कक्ष प्रयोग गरेको पुष्टि भएको छ ।

त्यसक्रममा आलमको ०६३२४१२२ नम्बरको पासपोर्ट चेक–जाँच गर्दा फरार अभियुक्त खुलेपछि भीआईपी कक्षबाट बाहिरिन नागरिक उड्डयन कार्यालयले रोक लगाएको थियो । तर त्यसअघि नै अध्यक्ष अन्सारीको गाडीमा बसेर आलम फरार भइसकेको प्रहरीले जनाएको छ । दाउद हुसेनको मुद्दामा फरार रहेका आलमलाई पक्राउ गर्न इन्टरपोलमार्फत नोटिससमेत जारी भएको थियो । दाउद हुसेनका छोरालाई डाक्टर पढाउने भन्दै एक करोड ६८ लाख ठगेको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ ।

विशिष्ट कक्षबाट भागेका उनलाई प्रहरीले नक्सालस्थित होटल मेरियटबाट शुक्रबार राति पक्राउ गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विमानस्थलबाट फरार आरोपीलाई पक्राउ गरिएको बताउनुभयो । अरबबाट आएको सांसद टोलीसहित विमानस्थलको विशिष्ट कक्षबाट बाहिरिनेक्रममा नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले टोलीको सदस्य बनाएर आरोपी आलमलाई आफ्नो गाडीमा राखेर बाहिरिनुभएको थियो ।

नागरिक उड्डयन कार्यालयको अनुमतिबिना फरार आलमलाई आफ्नो गाडीमा राखेर भगाएको आरोप आयोगका अध्यक्ष अन्सारीमाथि लागेको छ । उहाँले भगाएको नभई, आफ्नो गाडीमा राखेर होटलसम्म ल्याएको स्वीकार्नुभएको छ ।

यसअघि गत जेठ ३१ गते यूएईका राजपरिवार सदस्य शेख मोहम्मद मोक्तोम जुमा अल्मक्तौमले नेपाल आउँदा पनि विशिष्ट कक्ष दुरुपयोग गर्नुभएको थियो।

व्यवसायी दुर्गा प्रसार्इंको निमन्त्रणामा आउनुभएका जुमाले विशिष्ट कक्ष प्रयोग गरी झापा पुगेर प्रसाईंलाई सुनजस्तै देखिने लौरो उपहार दिनुभएको थियो । विमानस्थलको जानकारीबिना नै बाहिरिएको लौरोको वास्तविकता खुल्न सकेको छैन । प्रसाईं र जुमाबीचको भेटघाट रिजवान आलमले नै मिलाउनुभएको थियो ।

त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय विशिष्ट कक्ष दुरुपयोग गरी अभियुक्त फरार भएकोमा गल्ती स्वीकार गरेको छ । कार्यालयका निर्देशक तथा प्रवक्ता टेकनाथ विशिष्ट व्यक्तिले नै अभियुक्तलाई सँगै लिएर आएका कारण गल्ती भएको बताउनुभयो ।

उहाँले परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रमा व्यक्तिको विवरण खुलाउनुपर्नेमा त्यसो नगरी सङ्ख्यामात्र तोकेर पठाउने गरेका कारण पनि कतिपय अवस्थामा विशिष्ट कक्ष दुरुपयोग हुने गरेको गुनासो गर्नुभयो ।

नागरिक उड्डयन कार्यालयले विशिष्ट र अतिविशिष्ट कक्ष प्रयोग गर्न दिने व्यवस्था परराष्ट्र मन्त्रालयको पत्रका आधारमा गर्ने गरेको छ । विभिन्न राजदूतावासले पठाएको पत्रलाई परराष्ट्र मन्त्रालयले प्रमाणीकरण नगरी सिधै विमानस्थल पठाउने गरेका कारण पनि विशिष्ट कक्षको दुरुपयोग हुने गरेको गुनासो नागरिक उड्डयन कार्यालयको छ ।

परराष्ट्र मन्त्रालयले विशिष्ट कक्ष प्रयोगका लागि अनुरोध गरिएको पत्रमै एकनासको व्यहोरा उल्लेख नगरी पठाउने गरेको पाइएको छ । दुर्गा प्रसाईंको निमन्त्रणामा जेठ ३१ को घटनामा युनाइटेड अरब इमिरेट्स दूतावासले परराष्ट्रलाई लेखेको पत्रमा परराष्ट्रले छापमात्र लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पठाइदिएको पाइएको छ ।

शुक्रबारको घटनामा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी रुम प्रयोग गर्ने अनुमतिका लागि अनुरोध ‘पत्रमा अनुरोध भएबमोजिम विशिष्ट कक्ष प्रवेश पास उपलब्ध गराई दिनुहुन निर्देशानुसार अनुरोध गरिन्छ’ भन्ने टिप्पणीसहित छाप लगाइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले विशिष्ट कक्षबाट अभियुक्त भागेको र दुरुपयोग भएकोबारे आफूलाई जानकारी नभएको बताउनुभयो । यसबारे आफूले बुझेरमात्र जवाफ दिन सक्ने उहाँले बताउनुभयो ।

विमानस्थलको सुरक्षा विषयलाई लिएर पटक–पटक प्रश्न उठ्ने गरेको छ । नागरिक उड्डयन कार्यालय, भन्सार कार्यालय र अध्यागमन विभागले विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीबीच समन्वय र सहकार्य नहुँदा यस्ता समस्या पटक–पटक दोहोरिने गरेका छन् ।

छानबिन समिति गठन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फरार आरोपी भगाइएको बारे सत्यतथ्य पत्ता लगाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

कार्यालयका निर्देशक टेकनाथ निरौला संयोजक रहेको समितिमा नागरिक उड्डयन कार्यालय हवाई सुरक्षा महाशाखाका प्रमुख बच्चुराम श्रेष्ठ, टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख विजय ढुङ्गाना, विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश दुबे र राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारी रहनुभएको छ । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउनेगरी जिम्मेवारी तोकिएको छ ।

विशिष्ट कक्ष दुरुपयोग बढेपछि यसलाई रोक्न नागरिक उड्डयन कार्यालय परराष्ट्र मन्त्रालयबाट विवरण खुलाइएको पत्र अनिवार्य गर्ने र विशिष्ट व्यक्तिको पहिचान खुलेपछि मात्र प्रयोग दिने गरी कडाइ गर्ने जनाइएको छ ।गाेरखापत्र 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button