मूल खबर

एमाले र राप्रपाको गठबन्धन ‘अपवित्र’ ः शर्मा

मेचीनगर । झापा क्षेत्र नं १ का उम्मेद्वार तथा नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले सरकार बनाउने हैसियत आफूहरुसँग रहेकाले संयुक्त गठबन्धनका उम्मेद्वारलाई जिताउन मतदाताहरुसँग अपिल गरेका छन् ।
‘सरकार बनाउन तपाईं मतदाताको सहयोग अवश्य रहन्छ,’ संयुक्त गठबन्धनको मेचीनगरको तीनवटा वडास्तरीय सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘म पार्टीको महामन्त्री भएको हैसियत के भन्न चाहन्छु भने सरकार बनाउन मेरो सक्रिय भूमिका रहनेछ ।’


उनले झापा क्षेत्र नं १ को समग्र विकासको अगुवाई संयुक्त गठबन्धनले मात्र गर्न सक्ने बताए । नेता शर्माले एमाले र राप्रपाको गठबन्धनलाई ‘अपवित्र’ को संज्ञा पनि दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस–माओवादी गठबन्धनलाई अपवित्र भनेका थिए । त्यसको जवाफमा महामन्त्री शर्माले लोकतन्त्रवादी र राजावादी कसरी पवित्र भए भनेर प्रश्न गरे ।
मंगलबारबाट आफ्नो क्षेत्रमा चुनाव प्रचार अभियानमा सहभागी शर्माले मेचीनगर १, २ र ३ नम्बर वडाको संयुक्त गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । मेचीनगर १ को मेची डाँगी, २ को भृकुटी बजार र ३ को तेलपानीमा सम्पर्क कार्यालय उद्घाटन गरिएको काँग्रेस मेचीनगर–६ का पूर्व वडा सभापति रविन भट्टराईले जानकारी दिए ।
सो अवसरमा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेद्वार शर्मा, प्रदेश ‘क’ गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालजीत राई, भरत सुब्बा, माओवादी केन्द्रका नेता माधव अर्याल, राजु दाहाललगायतले चुनावी मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button