
एजेन्सी – रियल म्याड्रिडका विंगर इडेन हाजार्डले टोलीका पूर्व स्टार क्रिस्टियानो रोनाल्डोको कमी महसुस हुन नदिन निकै कठिन रहेको अभिव्यक्ति दिएका छन् ।
रोनाल्डोले गत सिजन रियल म्याड्रिड छाडेर युभेन्टस पुगेपछि रियलले यसै सिजन हाजार्डलाई अनुबन्धन गरेको थियो । इंग्लिस क्लब चेल्सी छाडेर रियल आएका हाजार्डले अपेक्षित सुरुवात भने गर्न सकेका छैनन् । उनले रोनाल्डोको प्रस्थानपछि ७ नम्बर जर्सीबारे रियल म्याड्रिड टिभीसँग बोल्दै भने, ‘ रोनाल्डोपछि यो जर्सी लगाउनु सहज हुँदैन । उनी क्लबको इतिहास नै बनिसकेका खेलाडी हुन् । उनको कीर्तिमान र खेल्ने शैलीलाई पूरा गर्न निकै कठिन हुनेछ ।’
रियलले सिजनको सुरुवात राम्रो स्तरमा गर्न सकेको छैन । यद्यपी हाजार्डका अनुसार रियल अझैपनि सबै उपाधिका लागि भिड्न सक्षम रहेको छ । ‘ हामी आफूले सकेको प्रयास गर्नेछौं । हाम्रो प्रयास सबै जित्नुपर्छ भन्ने हो तर कम्तिमा एक उपाधि त जित्नेपर्छ,’ उनले भने, ‘ च्याम्पियन्स लिगको बेग्लै महत्त्व छ र म त्यसै लक्ष्यसहित यहाँ आएको हुँ ।



