कृषि र किसान

कोरियाबाट ल्याइएका बाच्छी चितवनमा

गोरखापत्र अनलाइन
चितवन। दक्षिण कोरियाबाट ल्याइएका उन्नत नश्लका गाईका बाच्छी चितवन ल्याइपु-याइएको छ । दूधमा आत्मनिर्भर बनाउन नेपाल सरकारले दक्षिण कोरियाबाट उन्नत जातका गाईका बाच्छी ल्याएको थियो । नेपाल ल्याएको १०१ वटा गाईका बाच्छीमध्ये चारवटा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा यसै हप्ता ल्याइएको हो । एक बेत (तीन सय दिन)मा नौदेखि १० हजार लिटर दूध दिने गाईका बाच्छीलाई वातावरणअनुसारको स्याहारसुसार गरेर अर्को उत्पादन गर्ने तयारी रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख सागर पौडेलले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो, “यसै हप्ता यहाँ आइपुगेका छन्, ती बाच्छीलाई हुर्काएर कृत्रिम गर्भाधान (ईआईए)बाट सन्तान उत्पादन गराउनेछौँ । अबको एक वर्षमा ईआईए गर्नका लागि उपयुक्त हुन्छ । त्यसपछि ती बाच्छीबाट बहर जन्मे भने पोखरामा पठाउनेछौँ । बाच्छी नै जन्मेमा यही राखेर थप अनुसन्धान गरी अर्को उत्पादन गर्नेछौँ । रामपुरमा हामीले अनुसन्धानका लागि राख्ने, त्यसको वृद्धि विकासमा आएका समस्या, प्रगति र उनीहरूलाई पाल्दा लाग्ने खर्चको समेत हामीले अध्ययन गर्दछौँ ।”

अहिले नेपालको वातावरणमा रहन सक्ने, नसक्ने, कुन अनुपातमा दानापानी खुवाउने, दूध दिँदा अपनाउनुपर्ने सावधानीलगायतका विषयमा अध्ययन गरेर त्यहीअनुसार सिफारिस गर्ने उहाँले जानकारी दिनुभयो ।

नेपाल ल्याइएका बाच्छीमध्ये चितवनमा चारवटा, पोखरामा नौवटा, खुमलटारमा तीनवटा, जिरीमा चारवटा राखिएको छ । अन्य बाच्छी किसानलाई दिएको छ ।

हेफर इन्टरनेसनल नेपाल र हेफर इन्टरनेसनल दक्षिण कोरियाको व्यवस्थापनमा २० वटा उच्च प्रजननका साढे, एक सयवटा बाच्छी, कृत्रिम गर्भाधानका लागि पाँच हजार डोज वीर्य आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button