अरूण बम
काठमाडौँ
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या आरोपित व्यक्ति संसद्मै रहेको भन्दै नियमापत्ति जनाए। खतिवडाले महोत्तरी–१ बाट निर्वाचित नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई लक्षित गरेर नियमापत्ति जनाएका थिए। सभामुखको निर्वाचन हुनुपूर्व अध्यक्षता गरिरहेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग समय लिएर बोलेका खतिवडाले सो विषयलाई लिएर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई समेत कटाक्ष गरेका थिए।
खतिवडाले संसद् बैठकमा यो विषय उठाएपछि गृहमन्त्री लामिछाने आफ्नो समय आउँदा रोस्ट्रममै जंगिए। उनले फरार रहेका मानिस संसद्मा भए पनि त्यसलाई विधि र पद्धतिबाटै काम हुने भनेर टालटुले जवाफ दिए। ‘फरार मानिस संसद्मा हुनुहुन्छ, पक्राउ गर्नुस् भन्नुभयो। गृह मन्त्रालय विधि र पद्धतिबाहिर एक कदम निस्कँदैन,’ गृहमन्त्री लामिछानेले भने, ‘यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ।’
कांग्रेस सांसद खतिवडा र गृहमन्त्री लामिछानेबीच यस्तो जुहारी चलिरहँदा नेपाल प्रहरीको फरार सूचीमा रहेका सांसद कोइरी भने संसद्मै थिए। सरकारकै सहयोगमा कोइरीले प्रतिनिधिसभा सदस्यको शपथ लिएको र सभामुखको निर्वाचनका लागि बोलाइएको बैठकमा पनि उपस्थित भएको भन्दै आलोचना भइरहेका बेला गृहमन्त्री लामिछानेले दिएको यस्तो अभिव्यक्ति झन् विवादित बन्यो। पुराना दलबाट अपेक्षाकृत उपलब्धि नभएको भन्दै तीव्र विरोध गरेर राजनीतिमा उदाएका र गृहमन्त्रीसमेत बनिसकेका लामिछानेले सदनमै यसरी हत्या आरोपितलाई जोगाउनेगरी अभिव्यक्ति दिएको भनेर सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आएको छ।
यसैबीच शुक्रबार साँझ गृह मन्त्रालयबाट यसै सन्दर्भमा एक विज्ञप्ति सार्वजनिक भयो। जसले त्यो आलोचनालाई थप उचाइमा पुर्याएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा गृहमन्त्री लामिछानेले पटकपटक मौखिक निर्देशन दिँदा समेत प्रहरीले कोइरीलाई पक्राउ नगरेको भन्ने उल्लेख छ। ‘लक्ष्मी महतो कोइरीलाई कानुनबमोजिम पक्राउ गरी कारबाही गर्न माननीय उपपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटकपटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘निज प्रतिवादीलाई कानुनबमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ।’नागरिक दैनिकमा खबर छ ।



