
एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले सहज जित हात पार्दा युभेन्ट्सले पनि जित निकालेको छ ।
घरेलु मैदानमा नेपोलीले क्रेमोनेसलाई ३–० ले पराजित गरेको हो । नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया, भिक्टर ओसिमहेन र इल्जिफ इल्मासले गोल गरे ।
डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा आइतबार राति भएको खेलको २२औं मिनेटमा कभिचा कभाराट्सकेलियाको गोलबाट नेपोलीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।
६५औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । उनले मिन जाई किमको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ७९औं मिनेटमा इल्जिफ इल्मासले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्दै नेपोलीको जित पक्का गरे ।
यस जितसँगै नेपोलीले शीर्षस्थानमा १६ अंकको फराकिलो अग्रता कायम गरेको छ । नेपोलीको २२ खेलबाट ५९ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ४३ अंक छ । पराजित क्रेमोनेस ८ अंक जोडेर पुछारमा छ ।
सिरी ‘ए’ कै अर्काे खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १–० को जित दर्ता गरेको छ । युभेन्ट्सको जितमा पहिलो हाफमा एड्रिएन राविओटले गरेको गोल नै निर्णायक बन्यो ।
यस जितसँगै युभेन्ट्स २२ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । नियम उल्लंघन गरेका कारण युभेन्ट्सको १५ अंक घटाइएको थियो ।
१५ अंक नघटाइएको भए युभेन्ट्स अहिले दोस्रो स्थानमा उक्लने थियो । पराजित फियोरेन्टिना २२ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।हाम्रो खेलकुदबाट ।



