
एजेन्सी – इटालियन क्लब नेपोलीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब फ्रान्कफर्टलाई पराजित गरेको छ ।
नेपोलीले १० खेलाडीमा समेटिएको घरेलु टोली फ्रान्कफर्टलाई २–० को पराजित गरेको हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी डि लोरेन्जोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान गोल भएको थियो ।
ड्युट्से बैंक पार्क फ्रान्कफर्टमा मंगलबार राति भएको खेलको ३६औं मिनेटमा कभिचा कभाराट्सकेलिया पेनाल्टीमा चुक्दा नेपोली अग्रता लिनबाट चुक्यो । ४०औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले हिर्भिङ लोजानोको पासमा गोल गर्न सफल भएका थिए ।
५८औं मिनेटमा घरेलु टोली फ्रान्कफर्ट १० खेलाडीमा समेटिन पुग्यो । रान्दल कोलो मुआनी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि ६५औं मिनेटमा जियोभानी डि लोरेन्जोले गोल गर्दै नेपोलीलाई २–० को सहज जित दिलाए । उनले कभिचा कभाराट्सकेलियाको पासलाई सदुपयोग गरेका थिए ।
यस जितसँगै यो सिजन उच्च लयमा रहेको नेपोली पछिल्लो ९ खेलसम्म अपराजित रहन सफल भएको छ । इन्टर मिलानसँग जनवरीमा १–० ले पराजित भएयता अपराजित छ । जसमा ८ जित र १ बराबरीको नतिजा छ ।
यस जितसँगै नेपोलीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । १५ मार्चमा घरेलु मैदानमा हुने खेलमा यही नतिजा कायम राख्न सके नेपोली क्वाटरफाइनलमा पुग्नेछ । फ्रान्कफर्टलाई अघिल्लो चरण पुग्न जित निकाल्नुबाहेकको विकल्प छैन ।हाम्रो खेलकुदबाट ।



