
एजेन्सी – इटालियन क्लब युभेन्ट्सले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जित निकाल्दा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ ।
युभेन्ट्सले घरेलु मैदानमा जर्मन क्लब फ्रेइवर्गमाथि १–० को जित निकालेको हो । युभेन्ट्सको जितमा एन्जल डि मारियाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
एलिएन्ज एरिना टुरिनमा बिहीबार राति भएको खेलमा डि मारियाले ५३औं मिनेटमा फिलिप कोस्टिकको पासमा गोल गर्न सफल भएका थिए । ६२औं मिनेटमा लुकास होलेरले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा फ्रेइवर्ग बराबरीमा बाट चुक्यो ।
यस जितसँगै युभेन्ट्सको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित बनेको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्ट्स क्वाटरफाइनलमा पुग्नेछ । फ्रेइवर्गलाई जित आवश्यक हुनेछ । दोस्रो लेग फ्रेइवर्गको मैदानमा १६ मार्चमा हुनेछ ।

अर्काे खेलमा इंग्लिस क्लब आर्सनल पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग २–२ गोलको बराबरीमा रोकिएको छ । आर्सनलका विलियम सालिवाले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोली स्पोर्टिङका गोन्कालो इनासियो र पौलिन्होले गोल गरे ।
लिस्वोआमा बिहीबार राति भएको खेलको २२औं मिनेटमा विलियम सालिवाको गोलबाट पाहुना टोली आर्सनलले अग्रता लिएको थियो । ३४औं मिनेटमा स्पोर्टिङका गोन्कालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५५औं मिनेटमा पौलिन्होले गोल गरेपछि स्पोर्टिङले खेलमा २–१ को अग्रता लिन सफल भयो । तर, ६२औं मिनेटमा हिडेमासा मारिताले आत्मघाती गोल गरेपछि आर्सनल हारबाट जोगियो ।
यस बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ । अब दोस्रो लेगमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ । दोस्रो लेग १६ मार्चको राति आर्सनलको मैदानमा हुनेछ ।
अन्य नतिजा
युनियन बर्लिनविरुद्ध युनियन सेन्ट गिलोइस (३–३)
लिभरकुसेनविरुद्ध फेरेन्कभारोस (२–०)
रोमाविरुद्ध रियल सोसिडाड (२–०)
सेभियाविरुद्ध फेनरवाच (२–०)
साख्तर डोनेस्कविरुद्ध फियोनुर्ड (१–१)
म्यानचेस्टर युनाइटेडविरुद्ध रियल बेटिस (४–१)हाम्रो खेलकुदबाट ।



