मूल खबर

प्रेस क्लब मेचीनगरले बुझायो मेचीनगर नगरपालिकामा ध्यानाकर्षण पत्र(ध्यानाकर्षण पत्र सहित)

मेचीनगर । मेचीनगर नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् ।

मेचीनगर क्षेत्रका पत्रकारको छाता संस्था प्रेस क्लब मेचीनगरले आज मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । यसअघि पनि प्रेस क्लबले पटक–पटक ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सञ्चार क्षेत्रमा छुट्याइएको बजेट समेत प्रक्रिया पुग्दा पनि अहिलेसम्म उपलब्ध नगराइनुले मेचीनगर सञ्चारमैत्री बन्न नसकेको प्रेस क्लब मेचीनगरले ठहर गरेको छ । ‘सञ्चार क्षेत्रको विकास तथा सम्वद्र्धन गर्नु स्थानीय सरकारको दायित्व हो,’ नगर प्रमुख बुढाथोकीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बजेट बनाउँदा सञ्चारलाई छुट्याउने तर भुक्तानी नदिने चलनले मेचीनगर सञ्चारमाध्यमप्रति अनुदार बनेको प्रष्ट हुन्छ ।’

अन्य पालिकाले स्थानीय सञ्चारमाध्यमलाई विगतदेखि नै प्रक्रिया पुर्याएर समयमै रमक भुक्तानी गर्दै आएका छन् । तर, मेचीनगर पालिकाले स्थानीय सञ्चारमाध्यमलाई पाउने लोककल्याणकारी विज्ञापन वापतको रकमसमेत खोसेको छ । मेचीनगरले गत असार १० गते नगर सभामार्फत बजेट ल्याएको छ । यो आर्थिक वर्ष सकिनै लाग्दासमेत मेचीनगरले सञ्चार माध्यमका विषयमा स्पष्ट धारणा बनाउन सकेको छैन ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख बुढाथोकीले सञ्चारमाध्यमको विषयमा स्पष्ट धारणा बनाएर निष्कर्षमा पुग्ने बताए । उनले सञ्चारमाध्यमलाई दिइँदै आएको रकम उपलब्ध गराउने विषयमा छलफल गर्ने आश्वासन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button