काठमाडौँ।
सोलुखुम्बुको लामजुरा क्षेत्रमा मंगलबार मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना मेक्सिन नागरिक र हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेको सोलु प्रहरीले जनाएको छ ।
मंगलबार बिहान १० बजेर ५ मिनेटमा खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित सुर्के हेलिप्याडबाट काठमाडौँतर्फ उडेको ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ को सीमावर्ती लिखुपिके गाउँपालिका–५ लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनास्थलमा शवहरू यत्रतत्र छरिएको अवस्थामा रहेको प्रहरीको भनाइ छ । घटना स्थलमा प्रहरी पुगिसकेको त्यहाँ शव संकलनको कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
हेलिकप्टरमा मेक्सिकन नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस सवार रहेका थिए । उनीहरू मध्ये एक जनाको शव पहिचान गर्नै नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मंगलबार दुर्घटनामा परेका पाँचै जना मेक्सिकन आइतबार मात्रै भारतको इन्दिरागान्धी विमानस्थल ट्रान्जिट भएर काठमाडौं आएका थिए ।
उनीहरु नेपाल घुम्न १५ दिनको भिजिट भिसामा आएका थिए । एयर इन्डियामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको विमानस्थल अध्यागमन कार्यालयले जानकारी दिएको हो । आइतबार काठमाडौंमा बसेर उनीहरु सोमबार मनाङ एयरको हेलिकोप्टरमार्फत सोलुखुम्बुको लुक्ला पुगेका थिए। उनीहरु माउन्टेन फ्लाइटका लागि लुक्ला गएका थिए । सोमबार लुक्लामै बसेका उनीहरु मंगलबार काठमाडौं फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।न्युज अफ नेपाल



