कृषि र किसान

जुनार पकेट क्षेत्रमा सिँचाइ पोखरी

तीनकन्या (सिन्धुली । गोलन्जोर गाउँपालिका–४, तीनकन्या निवासी किसान रूपचन्द्र गुरुङले गत वर्षदेखि आठ रोपनी जमिनमा जुनार र सुन्तलाको व्यावसायिक खेती थाल्नुभएको छ । उहाँले सुक्खा मौसममा ती जुनार र सुन्तलाको बिरुवा संरक्षण गर्न भर्खरै दुई लाख ५० हजार रुपियाँ लगानी गरी १६ हजार लिटर क्षमताको सिँचाइ पोखरी पनि बनाउनुभएको छ।

उक्त पोखरीमा सङ्कलन हुने पानीले सुक्खा मौसममा जुनार र सुन्तलाका बिरुवालाई राम्रोसँग सिँचाइ गर्न पुग्ने र खेती राम्रोसँग फस्टाउने उहाँको आस छ । किसान गुरुङले भन्नुभयो, “जुनार सुपर जोनको ५० प्रतिशत अनुदान र आफ्नो ५० प्रतिशत रकम लगानी गरी उक्त पोखरी बनाएको हुँ । अब कोदो र मकै बाली मासेर सबै बारीमा जुनार, सुन्तलाका बिरुवा लगाउँछु ।”

त्यही जमिनमा आफूले करिब आठ वर्षअघि पनि जुनार, सुन्तला रोपेको तर सुक्खा मौसममा सिँचाइको अभावमा सबै बिरुवा मरेपछि जुनार, सुन्तलाको खेती छाडेको उहाँले सुनाउनुभयो । निर्माण गरेको सिँचाइ पोखरीबाट जुनार सुन्तलाको बिरुवा मात्रै नभई तरकारी खेतीमा पनि सिँचाइ सुविधा पुग्ने उहाँको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपर जोनका अनुसार सिन्धुली जिल्लामा जुनारको पकेट क्षेत्रमा यो वर्ष ६७ वटा सिँचाइ पोखरी निर्माण भएको छ । सुक्खा मौसममा जुनारका बिरुवालाई सिँचाइ गर्ने उद्देश्यले जुनार सुपर जोन कार्यक्रमको ५० प्रतिशत अनुदानमा ती पोखरी निर्माण गरिएको परियोजना प्रमुख रमेश हुमागाईंले जानकारी दिनुभयो ।

सिँचाइको अभावमा लामो खडेरी जाँदा सुक्खा मौसममा जुनारका बिरुवा मर्ने भएकाले सिँचाइ पोखरी निर्माणसँगै धेरै सजिलो भएको उहाँको ठम्याइ छ ।

सिँचाइ पोखरी निर्माणमा खटिनुभएका जुनार सुपर जोन कार्यक्रमका प्राविधिक दिलीप कार्कीका अनुसार अहिले सुपर जोन कार्यक्रम लागु भएको ठाउँमा चार बाई चार क्षमता र एक मिटर उचाइको ६७ वटा सिँचाइ पोखरी निर्माण भएको छ । सबै पोखरी निर्माणमा सुपर जोन कार्यक्रमको ५० प्रतिशत अर्थात् एक लाख २५ हजार रुपियाँ अनुदान र किसानले त्यति नै रकम थपेर निर्माण भएको छ ।

प्राविधिक कार्कीले भन्नुभयो, “हामीले दिने अनुदानमा किसानले पनि कम्तीमा त्यति नै रकम थपेका छन् ।” जुनार सुपर जोनको कार्यक्षेत्र मझुवा, जलकन्या, रतनचुरा, नाकाझोली, तीनकन्या, बितिजोर, डुडभन्ज्याङ र तोश्रामखोलामा गरी एक हजार हेक्टर रहेको छ । सिन्धुली जिल्लामा दुई हजार जुनार किसान सुपर जोन कार्यालयमा सूचीकृत छन् भने ३५ सयको हाराहारीमा किसानले जुनार खेती गर्दै आएका छन् ।

जुनार बढाउने कार्यक्रम अन्तर्गत हरेक वर्ष ६० हेक्टर जमिनमा नयाँ बिरुवा रोप्ने, जुनार, सुन्तला जोगाउने कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा जुनारको बोटमा प्रोटिन बेट विषादी छर्किएर औँसा, किरा नियन्त्रण र जुनारबाट कमाउने कार्यक्रम अन्तर्गत समुदायस्तरमा १० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण रहेको परियोजना प्रमुख हुमागाईंले स्पष्ट पार्नुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button