स्वास्थ्य

प्रसूति केन्द्र बन्द हुँदा बाटोमै जन्मिन्छन् बच्चा

एक वर्षदेखि बन्द रहेको पञ्चेश्वर–४, विनायक गाउँको प्रसूति केन्द्र । तस्बिर : गोकर्ण दयाल

बैतडी । गाउँको प्रसूति केन्द्र एक वर्षदेखि बन्द हुँदा भारतसँग सीमा जोडिएको पञ्चेश्वरको विनायक गाउँका महिला अस्पताल पुग्न नपाई बिचबाटोमै बच्चा जन्माउन बाध्य छन्। प्रसूति बेथा लागेका महिलालाई भारतीय अस्पतालनजिक पर्ने भए पनि भारतीय सीमा सुरक्षा बलले महाकाली नदीको विनायकघाटमा नियमित डुङ्गा चल्न नदिँदा यस्तो समस्या भोग्न बाध्य हुने गरेका छन्।

भारतसँग सीमा जोडिएको पञ्चेश्वर गाउँपालिका–४, विनायक गाउँमा ११२ घरधुरी रहेका छन्। गाउँमा स्वास्थ्य संस्थाको माग राख्दै स्थानीयले दुई रोपनी जग्गा दान गरेपछि गाउँपालिकाले छ लाख रुपियाँ खर्च गरेर दुई वर्षअघि प्रसूति केन्द्र स्थापना गरेको थियो।

प्रसूति केन्द्रमा चाहिने जति आवश्यक उपकरणसहित स्वास्थ्यकर्मीलगायत जनशक्तिको अभाव हुँदा प्रसूति केन्द्र सञ्चालन हुन सकेको छैन। पालिकाले नै कर्मचारीका लागि खाना पकाउने ग्यास चुलोसम्मका सामग्री खरिद गरेर राखिदिएको छ।

केही दिन गाउँमा सेवा दिन आएका स्वास्थ्यकर्मी नै ताला लगाएर हिँडेपछि एक वर्षदेखि प्रसूति केन्द्र बन्द रहेको छ। प्रसूति केन्द्रमा आउने खानेपानीको पाइप अलपत्र छ। भवन वरिपरि झाडी उम्रिएको छ भने भवन माकुराको जालोले घेरिएको छ।

प्रसूति केन्द्र बन्द भएपछि स्थानीय दुई जना गर्भवती सम्झना चन्द र कुस्मा चन्दले अस्पताल जाँदा बाटोमै बच्चा जन्माएको विनायक गाउँकी महिला स्वाथ्य स्वयम्सेविका पार्वती चन्दले बताउनुभयो।

“गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रेको अवस्थामा छ। छिमेकी देश भारतको अस्पताल जान सीमा सुरक्षा बलले महाकाली नदीमा डुङ्गा चल्न दिएको छैन,” स्वास्थ्य स्वयम्सेविका चन्दले भन्नुभयो, “आर्थिक अवस्था राम्रो भएकाले १६ हजार तिरेर कच्ची सडकमा जिप बुक गरेर अस्पताल जान्छन्। जिप बुक गर्न नसक्ने महिला चार घण्टा पैदल हिँड्नु पर्दा बाटोमै बच्चा जन्माउने गर्छन्।”

विनायक गाउँमा रहेको प्रसूति केन्द्र बन्द भएपछि बुहारीलाई सुत्केरी गराउन १६ हजार रुपियाँ गाडीभाडा तिरेर गाउँपालिका नजिकको स्वास्थ्य संस्थामा गएको स्थानीय जनक चन्दले बताउनुभयो।

गाडी बुक गर्न नसक्ने कमजोर आर्थिक अवस्थाका महिला बाटोमै बच्चा जन्माउन विवश रहेको उहाँले बताउनुभयो। भारत जान सजिलो भए पनि भारतीय सीमा सुरक्षा बलले महाकाली नदीमा नियमित रूपमा डुङ्गा चल्न दिएको छैन। खोप लगाउन पनि दुई–तीन घण्टा हिँड्नुपर्ने बाध्यता रहेको गुनासो विनायक गाउँका स्थानीय महिलाको छ।

गाउँपालिकाको एम्बुलेन्स बिग्रेपछि स्थानीयले चर्को भाडा तिरेर स्वास्थ्य संस्थामा धाउनुपर्ने अवस्था रहेको पञ्चेश्वर–४ का वडा सदस्य चिमड चन्दले बताउनुभयो । विनायक गाउँमै रहेको प्रसूति केन्द्र सञ्चालन गर्न पालिकाको स्वास्थ्य शाखामा कुरा राखे पनि एक महिनामा तीन जना प्रसूति हुने भएपछि मात्रै गाउँमा स्वास्थ्यकर्मी खटाउन सकिने जानकारी दिएको वडा सदस्य चन्दले बताउनुभयो।

प्रसूति केन्द्रका विषयमा बुझ्न खोज्दा गाउँपालिका स्वास्थ्य शाखा संयोजक रामसागर शाहसँग सम्पर्क हुन सकेन। स्वास्थ्य शाखाले कर्मचारीको व्यवस्थापन गरी विनायक गाउँको प्रसूति केन्द्र सञ्चालन गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button