कृषि र किसान

आलु र दूध बिक्रीबाट दुई करोडभन्दा बढी आम्दानी

यवो गाउँमा उत्पादित आलु । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा

दोलखा । । दोलखाको वैतेश्वर गाउँपालिका–८ यवोका ९३ घरधुरी किसानले यस वर्ष आलु बिक्रीबाट एक करोडभन्दा बढी आम्दानी गरेका छन् । आलु उत्पादनको हिसाबले उर्वर भूमि मानिने यवोबाट मात्रै यस वर्ष एक करोड ६८ लाखको आलु बिक्री भएको जनप्रेमी कृषि सहकारी संस्थाका अध्यक्ष टीकाबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रोत्साहनका लागि संस्थाले उत्कृष्ट आलु किसानलाई सम्मान गरेको छ । सहकारीले आलु खेती गर्ने किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन थालेपछि आलुखेती विस्तार हुँदै गएको हो । यवोका ९३ जना किसानले यस वर्ष तीन लाख ५२ हजार ३० केजी आलु काठमाडौँ निर्यात गर्दै एक करोड ६८ लाख आम्दानी गरेका हुन् ।

त्यस्तै आलुसँगै दूधमा पनि याे गाउँ आत्मनिर्भर बन्दै गएको छ । सहकारीको मासिक रिपोर्ट अनुसार ४० लाख ३२ हजार रुपियाँ दूधबाट आम्दानी गर्न सफल भएका छन् । यस गाउँका किसानले सहकारीको सहयोग पाएपछि कृषिलाई आम्दानीको मुख्य स्रोत बनाएको स्थानीय किसान शिवबहादुर कार्कीले बताउनुभयो ।

किसान कार्की यवोमा सबैभन्दा बढी आलु तथा दूध उत्पादन गरेर चौधौँ पटक सम्मानित भइसक्नुभएको छ । उहाँले यस वर्ष पनि चार लाख ५० हजारको आलु उत्पादन गरेर सहकारीबाट चौधौँ पटक सम्मान थापेको बताउनुभयो ।

दोस्रो सबैभन्दा बढी आलु फलाउने किसानको रूपमा सोही गाउँका रामचन्द्र कार्की पनि सम्मानित हुनुभएको छ । कार्कीले तीन लाख ३५ हजार बराबरको आलु उत्पादन गर्नुभएको छ ।

कृषकलाई सम्मान गर्दै पालिका अध्यक्ष छवि लामाले पालिकाले यवोका दूध उत्पादक किसानलाई प्रतिलिटर दूधमा दुई रुपियाँ अनुदान दिँदै आएको जानकार दिँदै भन्नुभयो, यस वर्षको हिउँदे अधिवेशनमा आलु पकेट कार्यक्रमका लागि अनुदान दिने तथा आगामी वर्ष आलुको बिउ भण्डार गर्ने सङ्कलन उपज केन्द्र निर्माण गर्न लागिएको छ । यवोका धेरै स्थानीय दैनिक गुजारा चलाउन ज्याला मजदुरी गर्न भारत जाने गर्थे। हिजोआज यहाँका स्थानीयको दिनचर्या फेरिएको छ । यवो गाउँ कृषि उत्पादन र व्यावसायिक पशुपालनका हिसाबले पालिकाकै पहिलो गाउँ बन्न सफल भएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button