
काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टनको महिलातर्फको उपाधि थाइल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र पुरुषतर्फको भियतनामका काव सुओङ फामले जितेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको फाइनलमा शीर्ष वरियताकी पोर्नतिपले दक्षिण कोरियाकी कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ ले हराउँदै उपाधि जितेकी हुन् ।
त्यस्तै छैटौं वरियताका भियतनामका फामले आठौं वरियताका थाइल्याण्डका अदुलराच नामकुललाई २४–२२, ९–२१, २१–१९ ले पराजित गर्दै उपाधि जितेका हुन् । पुरुष तथा महिला एकल तर्फ विजेताले समान १ हजार ८ सय ७५ र उपविजेताले ९ सय ५० अमेरिकी डलर प्राप्त गरे । तेश्रो हुनेले समान ३ सय ६२.५० डलर पाए ।
महिला युगल तर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्लेको जोडीले उपाधि जित्यो । प्रतियोगितामा पहिलो बरियता प्राप्त अष्ट्रेलियन जोडीले फाइनलमा चौथो वरियताका भारतीय मनिषा के. र रुतापर्ना पान्डाको जोडीलाई २१–१०, १८–२१ र २१–११ ले पराजित गर्यो ।
यस्तै पुरुष युगल तर्फ भारतका आत्री मनु र रेड्डी बि. सुमिथको जोडीले आफ्नै देशका एम.आर. अर्जून र ध्रुव कपिलाको जोडीलाई २१–१९, २१–१५ ले पन्छाउँदै उपाधि जित्यो ।
मिश्रीत युगल तर्फ थाइल्याण्डका सुपार्क जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडीले दक्षिण कोरियाका ना सुङ सिउङ र किम मिन जीको जोडीलाई पराजित गर्दै उपाधि हासिल गर्यो । थाइ जोडीले २१–१८, २१–१६ ले विजयी भएको थियो ।विजेता पुरुष तथा महिला जोडी र मिश्रीत जोडीले १ हजार ९ सय ७५ , दोस्रो जोडीले ९ सय ५० डलर, तेश्रोले हुने जोडीले समान ३ सय ५० अमेरिकी डलर प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई राखेपका सचिव रमेश कुमार सिलवाल, सदस्य एकेन्द्र कुँवर, नेपाल लन टेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिकी उपाध्यक्ष ज्योती राणालगायत, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतले पुरस्कृत गरे । २५ हजार अमेरिकी डलर पुरस्कार रहेको पाँच दिने प्रतियोगितामा २१ राष्ट्रका १ सय ४९ खेलाडीे प्रतिस्पर्धा गरेका थिए ।



