खबर

छ महिनामा सात खर्बको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को छ महिना अर्थात् पुससम्ममा व्यापार घाटा झण्डै सात खर्ब अर्थात् छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार पुगेको छ । जुन गत वर्षको सोही अवधिभन्दा २.६२ प्रतिशतले कम हो । भन्सार विभागका अनुसार गत वर्षको सोही अवधिमा सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपैयाँ व्यापार घाटा थियो । छ महिनामा आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख १० हजार रुपैयाँ बराबरको व्यापार भएको थियो । पुससम्ममा आयात ३.०९ प्रतिशत र निर्यात ७.२३ प्रतिशतले घटेको छ । पुससम्ममा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ७१ अर्ब १८ करोड ५८ लाखको निर्यात भएको थियो ।

छ महिनामा ६६ अर्ब ४९ करोडको डिजेल, ३३ अर्ब ९२ करोडको पेट्रोल तथा २५ अर्ब ४६ करोडको एलपी ग्याँस र १३ अर्ब १२ करोड बराबरका विद्युतीय सवारीसाधन आयात भएका छन् ।

सो अवधिमा नेपालले सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । गत वर्षको यही अवधिमा सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । चालु आर्थिक वर्षको छ महिनामा वैदेशिक व्यापार घटे पनि भन्सार राजस्व भने बढेको छ । छ महिनामा भन्सार राजस्वबाट दुर्ई खर्ब १० करोड असुली भएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा ६.३४ प्रतिशत धेरै हो । गत वर्ष एक खर्ब ८८ अर्ब १७ करोड बराबर राजस्व असुली भएको थियो । तथापि यस वर्ष सरकारले छ महिनामा भन्सारबाट तीन खर्ब छ अर्ब १७ करोड राजस्व संकलन लक्ष्य राखेकामा लक्ष्यको ६५ प्रतिशतमात्र संकलन भएको छ ।

छ महिनामा ६६ अर्ब ४९ करोडको डिजेल, ३३ अर्ब ९२ करोड बराबरको पेट्रोल तथा २५ अर्ब ४६ करोडको एलपी ग्याँस र १३ अर्ब १२ करोड बराबरका विद्युतीय सवारीसाधन आयात भएका छन् । विदेशबाट कच्चा पदार्थ आयात गरी उच्चरूपमा निर्यात हुँदै आएको प्रशोधित पाम आयलको निर्यात भने हृवात्तै घटेको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को छ महिनामा नेपालबाट दुई अर्ब ९० करोडको मात्रै प्रशोधित पाम आयल निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ९ करोड बराबरको निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको छ महिनामा सबैभन्दा धेरै निर्यात हुने वस्तुमा फलामे पाता रहेको छ । यो अवधिमा छ अर्ब १४ करोडको फलामे पाता निर्यात भएको छ । नेपालबाट उच्च निर्यात हुने वस्तुमा सेन्थेटिक यार्न, ऊनी गलैंचा, तयारी कपडा, अलैंची, फलफूल जुस, प्लाइउड, प्रशोधित पाम तेल, फेल्टजन्य कपडा रहेका छन् । सो अवधिमा पाँच अर्ब ७० करोडको सेन्थेटिक यार्न, पाँच अर्ब २३ करोडको गलैंचा, चार अर्ब ६७ करोडको तयारी पोशाक, तीन अर्ब ९१ करोडको अलैंची, तीन अर्ब ८१ करोडको फलफूल जुस, तीन अर्ब ५३ करोडको प्लाइउड, दुई अर्ब ९० करोडको प्रशोधित पाम तेल निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको छ महिनामा सुन आयात घटेर ११ अर्ब ८९ करोडको मात्र आयात भएको छ । गत वर्षको सोही अवधिमा २९ अर्ब २० करोडको सुन आयात भएको थियो ।

सबैभन्दा धेरै आयात हुने वस्तुमा डिजेल रहेको छ । पुससम्ममा ६६ अर्ब ४९ करोडको डिजेल आयात भएको छ । तर, गत वर्षको सोही अवधिको तुलनामा भने कम हो । धेरै आयात हुनेमा पेट्रोल, एलपी ग्याँस, एचआर सिट, शुद्ध फलाम, तयारी कपडा, मोबाइल, औषधि, विद्युतीय सवारी रहेका छन् ।

छ महिनामा ३३ अर्ब ९२ करोडको पेट्रोल, २५ अर्ब ४६ करोडको एलपी ग्याँस, २२ अर्ब ३६ करोडको एचआर सिट, १९ अर्ब ३७ करोडको शुद्ध फलाम, १८ अर्ब ७४ करोडको तयारी पोशाक, १५ अर्ब ६७ करोडको मोबाइल, १३ अर्ब २७ करोडको औषधि, १३ अर्ब १२ करोडको विद्युतीय सवारीसाधन र ११ अर्ब ८९ करोडको सुन आयात भएको छ । सो अवधिमा डिजेल आयातबाट सबैभन्दा धेरै २५ अर्ब २८ करोड राजस्व संकलन भएको छ भने पेट्रोलबाट १९ अर्ब ४४ करोड, सवारीसाधनबाट सात अर्ब ५४ करोड, तयारी पोशाकबाट छ अर्ब ५० करोड, विद्युतीय सवारीसाधनबाट पाँच अर्ब ७९ करोड, एलपी ग्याँसबाट चार अर्ब ७५ करोड, मोटरसाइकल अन एसेम्बल्डबाट चार अर्ब पाँच करोड, मोटरसाइकलबाट तीन अर्ब ४१ करोड, एचआरटीबाट तीन अर्ब ११ करोड तथा मोबाइलबाट दुई अर्ब ९२ करोड राजस्व संकलन भएको छ ।हिमालय टाइम्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button