कृषि र किसानमूल खबर

बाढी प्रभावित मनाङे महिला सामूहिक खेती गर्दै

सामूहिक खेती गर्दै मनाङी ताल गाउँका महिला । तस्बिर: यदु

यदुप्रसाद भट्ट

मनाङ । २०७८ को मर्स्याङ्दी नदीमा आएको बाढीले क्षतविक्षत पारेर भर्खरै बसेको बस्ती । अनि त्यही बस्तीको बाँचेको समथर जमिन । हो त्यही जमिनलाई सदुपयोग गरी सामूहिक खेती गर्दै छन् ताल गाउँका महिला । यसै पनि हिमाली भेगमा खेतीयोग्य जमिन कमै हुन्छ । भएका जमिन पनि भिरालो तथा पखेरामा हुन्छन् तर ताल गाउँको जमिन भने बगरमै भए पनि सम्म छ । यही सम्म परेको ठाउँमा नासोँ गाउँपालिका–१ ताल गाउँका महिला यति बेला सामूहिक खेतीमा व्यस्त छन् ।

घरायसी खाँचो पनि टर्ने तथा आफू आत्मनिर्भर पनि हुने भएकाले यहाँका महिलाहरु सामूहिक खेतीमा आकर्षित भएका हुन् । उनीहरू यही सामूहिक खेतीबाट आत्मनिर्भर पनि बन्दै गएका छन् । मनाङमा अन्य खेतीको तुलनामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने गरिन्छ । त्यही भएर पनि यहाँका महिला व्यावसायिक आलु उत्पादनबाट आत्मनिर्भर बन्दै गएको स्थानीय तिरकाशी घलेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जग्गा भाडामा लिएर सामूहिक आलु खेती गर्न थालेका छौँ ।’

आलु आयात गर्नुपर्ने अवस्थाको अन्त्यका लागि ११ जना महिलाको समूह बनाएर १० रोपनी जग्गामा आलु खेती गरिएको घलेले बताउनुभयो । सामूहिक खेतीले आलु आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको घलेको भनाइ छ । उहाँले भन्नुभयो– ‘यहाँ आलु खेती प्रशस्त हुने भएकाले यसतर्फ आकर्षित भएका हौँ । उत्पादन हुन थालेपछि आलुको बजारमा माग पनि बढिरहेको छ । उत्पादित आलु यहीँ खपत भइरहेको छ ।’

जिल्लाका अन्य क्षेत्रमा भने सामूहिक खेती गरिएको छैन । एक्लैले काम गर्दा उत्पादन कम हुने भएकाले सामूहिक रूपमा काम थालिएको अर्की कृषक कान्छी गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सामूहिक हुँदा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ ।’ तर मनाङमा उत्पादित आलुको माग ठुला सहरमा भइरहेको भन्दै गुरुङले मागअनुसारको उत्पादन हुन नसकेको बताउनुभयो । सामूहिक खेती सुरु गरेसँगै मनग्य आम्दानी हुन थालेपछि कृषि पेसाबाट पनि आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश आम नागरिकमा पुर्याउन सकिएको उहाँको भनाइ छ ।

आलुमा आत्मनिर्भर मनाङले आन्तरिक मागलाई जसोतसो थेगे पनि बाहिरको मागलाई पूर्ति गर्न नसकिएको कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ । तैपनि यति बेला आलु रोप्ने सिजन भएकाले किसानलाई बारीमै गएर आलु रोप्ने तरिका सिकाएको कृषि ज्ञान केन्द्रका अधिकृत घनश्याम गैरेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कसरी आलु लगाउँदा बढी उत्पादन हुन्छ । मलको मात्रा, चिस्यानको अवस्था र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएका छौँ ।’

गैरेका अनुसार यहाँ बढी उत्पादन हुने खेतीलाई ज्ञान केन्द्रले पनि प्राथमिकता दिँदै आएको छ । पालिका र ज्ञान केन्द्रको समन्वयमा कृषकलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न अनुदानको व्यवस्थासमेत गरिएको भन्दै यहाँका किसानलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

हिउँद लागेसँगै जाडो छल्न काठमाडौँ, पोखरालगायत सहर झरेका यहाँका किसान अहिले गाउँ फर्केर आलु रोप्नमा व्यस्त भएका नासाेँ गाउँपालिका–५ का वडा सदस्य फूलमाया विकले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस वर्ष समयमा नै हिउँ परेकाले जमिन गलेको छ । अहिले खेतीका लागि समय पनि उपयुक्त भएकाले अधिकांश खेतीपातीमा व्यस्त हुन थालेका छौँ ।’

फूलमाया, तिरकाशी र कान्छी त केवल प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै यहाँका महिला आलु खेतीमा आकर्षित भएका छन् । मनाङ पर्यटकीय क्षेत्र भएकाले उत्पादित आलु यही खपत हुने किसानहरू बताउँछन् ।

गाउँ फर्किएर जौ, गहुँ, आलु, उवा, करु, फापरलगायत खेती गर्न किसान व्यस्त हुन थालेका वडा सदस्य विकको भनाइ छ । नासोसँगै चामे गाउँपालिकामा पनि आलु लगाउन भ्याई नभ्याई भइरहेको विकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यस वर्ष समयमा नै हिउँ परेकाले कृषि पेसा गर्नेलाई सहज भएको छ । जमिन भिजेकाले सिँचाइको समस्या छैन । यति बेला पालिकाभरिका किसान आलु रोप्न व्यस्त छन् ।’ नासोँका ओडार, तिल्चे, नाचै र ताचै, थोचे बढी आलु फल्ने क्षेत्र भएको नासो–५ का वडाध्यक्ष थुतेन लामाले बताउनुभयो ।

गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button