कृषि र किसानहेड लाइन

गरिबको गाई सानन बाख्रा !

मकवानपुरको चित्लाङमा रहेको बाख्रा विकास फार्ममा पालिएका सानन बाख्रा ।

अनिल पराजुली

हेटौँडा । सपक्क परेका सेता रौँ, छोटा र ठाडा कान, मिलेको शरीर, लामो ठाडो र पातलो सिङका साथै झपक्क दारी तथा माउको विकसित ठुलो कल्चौँडो । यो पहिचान हो सानन बाख्राको ।

दुध उत्पादनका लागि पालिने बाख्रा भएकाले यसलाई गरिबको गाईसमेत भन्ने गरिएको छ । बाख्रा विकास फार्म चित्लाङका फार्म प्रबन्धक विश्वेश्वरप्रसाद यादवका अनुसार गाई, भैँसी पाल्न नसक्ने र सानो क्षेत्र, घाँसको अभाव भएका किसानले दुधका लागि सानन बाख्रा नै उपयुक्त हुन्छ ।

उहाँका अनुसार एउटा बाख्राले दिनमा तीनदेखि चार लिटरसम्म दुध दिन्छ । बाख्राले पाठालाई खुवाएर पनि यति धेरै दुध आउने भएकाले यो गरिबको गाई पनि हो । सानन पहिलो पटक १० देखि १२ महिनामा ब्याउँछ र ब्याएपछि ८ देखि १० महिनासम्म दुध दिइरहन्छ । यो जातको बाख्राको दुध उत्पादन क्षमता बढी भएकाले यो बाख्रालाई बाख्रा जगतकी दुधकी रानी पनि भन्ने गरिएको छ ।

सानो परिवारलाई तीनदेखि चार लिटर दैनिक दुध हुँदा मनग्य पुग्ने गरेको बताउँदै उहाँले बाख्राको दुधमा कोलेस्ट्रोलको मात्रा शून्य भएकाले यो स्वस्थ्यकर रहेको जानकारी दिनुभयो । भर्खर जन्मेकादेखि जुनसुकै उमेर समूहका मानिसले बाख्राको दुध खान मिल्ने र प्रेसर, सुगर भएका बिरामीले पनि पिउन उपयुक्त रहेको फार्म प्रबन्धक यादवको तर्क छ । नेपालमा २०७२ सालदेखि सानन बाख्रा पाल्न थालिएको थियो । कृषि तथा खाद्य सुरक्षा आयोजनामार्फत बाख्रा विकास फार्म चित्लाङमा पाँच वटा बाख्रा ल्याएर हाल बढाउँदै ३५ वटा पालिएको फार्म प्रबन्धक यादवले जानकारी दिनुभयो । फार्ममा माउको सङ्ख्या कम भएकाले किसानलाई बिक्री नगरेको जानकारी दिँदै उहाँले ५० वटा पुगेपछि माउ तथा पाठी पनि बेचिने बताउनुभयो ।

बाख्राले प्रायः पाठा धेरै जन्माउने भएकाले पाठी दिन नसकिएको हो । सानन जातको वयस्क बोकाको तौल ९० देखि १०० केजीसम्म हुने र बाख्राको तौल ७५ देखि ८० केजीसम्म हुने गर्छ ।

शुद्ध सानन बाख्रा प्रतिकेजी एक हजारको दरले उपलब्ध गराइने यादवले जानकारी दिनुभयो । किसानले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएपछि मात्रै फार्मले बाख्रा बिक्री गर्ने गरेको छ । फार्मले बाहिरी जिल्लामा बाख्रा बिक्रीलाई प्राथमिकता दिने गरेको छ । सरकारी दररेट अनुसार सानन जातको पाठापाठी प्रतिकेजी एक हजारका दरले फार्ममार्फत बिक्री गर्ने गरिएको छ । फार्मले दुध उत्पादन गर्ने किसानलाई प्राथमिकता दिएर पाठापाठी उपलब्ध गराउँदै आएको छ ।

चित्लाङ–१० मा फार्मकै समूहमार्फत बाख्राको दुधको चिज बनाउने गरिएको छ । त्यहाँका किसानले पनि दैनिक तीन लिटरसम्म दुध उत्पादन गर्दै आएका छन् । नेपालको चित्लाङ र पोखरामा बाख्राको दुधबाट चिज बनाउने गरिएको छ । चितवनमा पनि तयारी भइरहेको छ ।

सानन जातको बाख्रा समुद्री सतहदेखि १५०० देखि २५०० मिटरसम्मको उचाइका क्षेत्रमा (दक्षिण मोहडा फर्केको पहाडी भेगमा अझ उत्तम) सफलतापूर्वक पालन गर्न सकिन्छ । प्रबन्धक यादवका अनुसार हाल बाख्रा विकास फार्म चित्लाङ, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुर तनहुँमा यो बाख्रा पालन गरिएको छ ।

तत्कालीन राणा शासकले २००१ सालमा स्थापना गरेको भेडा फार्म (हाल बाख्रा विकास फार्म) ले माग अनुसार किसानलाई बाख्रा उपलब्ध गराउन सकेको छैन । फार्ममा उत्पादन हुनेभन्दा तेब्बर बढी किसानबाट बाख्राको माग आएको फार्मले जानकारी दिएको छ । सरकारी फार्ममा शुद्ध नश्लको बाख्रा पाइने विश्वासले किसान र व्यावसायिक बाख्रा पालन गर्दै आएकाले माग धेरै गर्ने गरेको फार्म प्रबन्धक यादवले बताउनुभयो ।

फार्म खुलेको ७८ वर्षपछि गत वर्ष फार्ममा डिपबोरिङबाट पानी निकालिएको थियो । वर्षायाममा चिसो कम, घाँसको पर्याप्तता र सिँचाइ समस्या नभए पनि हिउँदमा भने तुषारोले भुइँघाँस मर्ने, सुक्खा भएर डाले घाँसको पात झर्ने, तुषारो नपर्ने फार्मको तल्लो भेगमा पानी अभावका कारण घाँस सुक्ने, चिसोबाट विशेषतः पाठापाठीलाई बचाउन मुस्किल पर्ने जनाइएको छ ।

फार्मले वर्षायामको घाँसलाई सुकाएर राख्ने तथा नेपियर, मकै आदि घाँसलाई साइलेज (घाँसको गुन्द्रुक) बनाएर राख्ने र हिउँदको घाँस अभाव टार्ने गर्दै आएको थियो । फार्ममा बाख्रा, भेडा, मासुका लागि खरायो र दुधका लागि जर्सी गाई पालन गरिएको छ । फार्म पर्यटकीय स्थलका रूपमा पनि चर्चित छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button