खेलकुद

उपाधि भारतलाई, नेपाल रजतमा सिमित , अन्तिम समयमा चुक्याे

तस्विरः सागर बस्नेत
काठमाडौं, मसिंर १७ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्त महिला भलिबलको उपाधि भारतले जितेको छ । स्वर्ण पदकका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको कभर्ड हलमा भएको खेलमा भारतले ३–२ ले जित हात पारेको हो ।
नेपालले पहिलो सेट गुमाएपनि दोस्रो तथा तेस्रो सेटमा वापसी गर्दै २–१ को अग्रता लिएको थियो । भारतले चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल २–२ को बराबरीमा ल्यायो । चार सेटमा खेलको टुंगो नलागेपछि पाँचौं सेटमा गएको थियो ।
नेपाल भने रजत पदका चित्त बुझाउनुपरेको छ । साग महिला भलिबलमा नेपालले रजत पदक जितेको यो पहिलो अवसर हो ।
पहिलो सेट गुमाएर दबाबमा आएको नेपालले लगातार दुई सेट जितेर खेलमा उत्कृष्ट वापसी मात्रै गरेनन, बरु नेपाली प्रशंसकलाई स्वर्ण पदक जित्ने आश्वस्त तुल्याएको थियो । तर भारतले चौथो सेटमा वापसी गर्दै आफ्नो पक्षमा पारेपछि नेपाल दबाबमा आयो । भारतले पाँचौं तथा अन्तिम सेटमा आक्रामक खेल प्रस्तुत गर्दै नेपाललाई दुई अङ्कमा सिमित गर्दै आठ अङ्क आर्जन गरेको थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुन, खेलकुद मन्त्री जगत विश्वकर्मासहित विशिष्ट अतिथिको उपस्थितिमा नेपालले फेरी खेलमा फर्कियो र लगातार तीन अङ्क जोडेर अङ्क पाँच पुर्यायो । अन्तिम सेटमा दबाब बढ्दै जाँदा नेपालले लगातार सर्भिसमार्फत् दुई अङ्क गुमायो । अन्ततः भारत १५ अङ्क ल्याएर पाँचौं तथा अन्तिम सेट जितेर साग महिला भलिबलमा स्वर्ण पदक लगातार जित्ने आफ्नो इतिहास कायम राख्यो ।
यसअघि नेपालले पहिलो सेट १७–२५ ले गुमाएको थियो ।
अत्यन्तै चुनौतीपूर्ण स्पर्धाका बावजूद नेपालले दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै १–१ को बराबरीमा ल्याएपछि खेल चौथो सेटमा गएको निश्चित भयो । तेस्रो सेट पनि २५–२१ ले जितेपछि घरेलु प्रशंसकले खचाखच भरिएको हलमा नेपालले लगातार चौथो सेट जितेर पहिलोपटक साग भलिबलमा इतिहास बनाउन लागेको थियो । तर लगातार दुई सेट गुमाएपनि भारतीय खेलाडी अत्तालिएनन् । उसले चौथो सेट जितेर नेपाललाई कडा चुनौती दिदै खेल निर्णायक बनाउन पाँचौं सेटमा लगेको थियो । पाँचौं तथा अन्तिम सेटमा भारतले १५–६ को अग्रता बनाएर उपाधिमाथिको आफ्नो वर्चश्वलाई निरन्तरता दिन सफल रह्यो ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button