मूल खबरहेड लाइन

रास्वपाको निर्वाचित कार्यसमिति

‘शक्ति पृथकीकरणको सिद्धान्तलाई सम्मान गर्छौं’

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट सभापतिमा निर्वाचित रवि लामिछाने शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण गर्नुहुँदै । तस्बिर : सुजन गुरुङ

वसन्त पराजुली

नारायणगढ (चितवन), असार १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक सातादेखि चितवनमा जारी प्रथम महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न भएको छ । महाधिवेशनले सभापतिसहित छ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको छ ।

महाधिवेशनबाट सभापतिमा रवि लामिछाने यसअघि नै सर्वसम्मत निर्वाचित भए पनि रास्वपाको निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको घोषणा सभामार्फत औपचारिक रूपमा सार्वजनिक गरेको हो । आयोगले निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नाम घोषणा गर्दै महाधिवेशन सम्पन्न भएको जनाएको छ । सभापति पदमा लामिछानेको एकल उम्मेदवारी परेको थियो ।

सभापतिमा निर्वाचित भएपछि

लामिछानेले लोकतन्त्रका आधारभूत मान्यता, शक्ति पृथकीकरणको सिद्धान्त र राज्यका संस्थाहरूलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले मत वा सङ्ख्याको बलमा विगतका शासकहरूले गरेका गलत अभ्यास आफूहरूबाट दोहोरिन नहुने स्पष्ट पार्नुभयो । “शक्ति पृथकीकरणको सिद्धान्तमा अडिग रहेर संस्थाहरूको सम्मान गर्न जानेनौँ भने, मतको बलमा हिजोका शासकहरूले गरे जस्तै गलत अभ्यास ग¥यौँ भने त्यसले फेरि दुर्घटनातर्फ लैजान सक्छ,” सभापति लामिछानेले भन्नुभयो । उहाँले लोकतान्त्रिक अभ्यास गलत दिशातर्फ गए त्यसको असर पार्टीमा मात्र नभई पुस्तौँसम्म पर्ने चेतावनी दिनुभयो ।

यता रास्वपाको उपाध्यक्ष (खुला) पदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सर्वसम्मत निर्वाचित हुनुभएको छ । उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वाग्लेलाई समर्थन गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । वाग्ले यसअघि केन्द्रीय सदस्यतर्फ पनि सर्वाधिक मतसहित निर्वाचित हुनुभएको थियो । उहाँले केन्द्रीय सदस्य निर्वाचनमा दुई हजार ६५६ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्ष महिलातर्फ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम निर्वाचित हुनुभएको छ । उहाँले ७८९ मत प्राप्त गर्नुभएको छ । उहाँसँग प्रतिस्पर्धामा रहनुभएकी सांसद डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गर्नुभएको थियो ।

महामन्त्रीका लागि विपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ । उहाँ ६२१ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी मनीष झाले ३२४ मत प्राप्त गर्नुभयो । महामन्त्रीका लागि गणेश कार्की र सागर ढकालले पनि प्रतिस्पर्धा गर्नुभएको थियो । महामन्त्रीमा उम्मेदवारी दिएका नेताहरू कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने, जगदीश खरेल र शिशिर खनालले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिनुभएको थियो । रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिनुभएको थियो । तर उहाँले ढिलो गरी फिर्ता लिएका कारण उम्मेदवार सूचीबाट नाम हट्न नसकेको बताइएको छ ।

दुई जना सहमहामन्त्री (खुला) तर्फ अशिम शाहले ४३६ र हरि ढकालले ३७२ मत ल्याएर निर्वाचित हुनुभएको छ । सहमहामन्त्रीमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरू र हिमेश पन्तले प्रतिस्पर्धा गर्नुभएको थियो ।

यस्तै महिला सहमहामन्त्री पदमा निशा डाँगी निर्वाचित हुनुभएको छ । उहाँले ७०१ मत प्राप्त गरी निर्वाचित हुनुभयो । डाँगीसँग जुली यादव, जमुना शर्मा विदुषी, कामिनीकुमारी चौधरी र रिमा विश्वकर्माले प्रतिस्पर्धा गर्नुभएको थियो ।

पदाधिकारीतर्फ भएको दोस्रो चरणको निर्वाचनमा एक हजार ३६१ मत खसेको थियो । यो सङ्ख्या केन्द्रीय सदस्य निर्वाचनमा खसेको मतभन्दा एक हजार ५९८ ले कम हो । पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा दुई हजार ९५९ जनाले मतदान गरेका थिए ।

अधिकांश मन्त्री निर्वाचित

सरकारमा सहभागी अधिकांश मन्त्री रास्वपाको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

केन्द्रीय सदस्यमा मन्त्रीहरू डा. वाग्लेले दुई हजार ६५६, खनालले दुई हजार ५३८, गौतमले दुई हजार ६४२, श्रेष्ठले दुई हजार १२३, मेहताले एक हजार ८९१, पोखरेलले एक हजार ८६४, वादीले एक हजार ८१३ र चौधरीले एक हजार ५३७ मत प्राप्त गर्नुभएको थियो । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव भने केन्द्रीय सदस्य पदमा पराजित हुनुभएको छ । उहाँ खुला मधेशी कोटाबाट उम्मेदवार बन्नुभएको थियो । उहाँले ८६९ मत प्राप्त गर्नुभएको थियो ।

महिलाको ५० प्रतिशत प्रतिनिधित्व

रास्वपाको केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व करिब ५० प्रतिशत पुगेको छ । ९९ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनबाट ४९ जना महिला निर्वाचित भएका छन् । केन्द्रीय सदस्य पदमा ८० जना महिलाले उम्मेदवारी दिएका थिए ।

महिला केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा सोविता गौतम, तोसिमा कार्की, रञ्जु दर्शना, निशा डाँगी, इन्दिरा रानामगर, रिमा विश्वकर्मा, समीक्षा बाँस्कोटा, गीता चौधरी, लिमा अधिकारी, प्रकृति ढकाल, टीका सङ्ग्रौला, क्रान्तिशिखा धिताल, जमुना शर्मा, सुशीला कार्की पोखरेल, आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ, कुसुम महर्जन, निशा मेहता, शोभा कार्की, कल्पना थापा, सुजाता तामाङलगायत रहनुभएको छ ।

त्यस्तै सीता वादी, बिनिता कठायत, टासी ल्हाजोम, मेनुका शाही, जानकी जोशी, चन्द्रा ऐर ‘चाँदनी’, करिष्मा कठरिया, जुली यादव, कामिनीकुमारी चौधरी, सविना विक, खिमा विक र मिना मियाँ पनि निर्वाचित हुनुभएको छ ।

प्रदेशबाट ३५ र खुलाबाट ३५ सदस्य

रास्वपाको केन्द्रीय समितिमा सात प्रदेशबाट पाँच/पाँच जनाका दरले ३५ जना निर्वाचित भएका छन् । त्यस्तै खुला प्रतिस्पर्धाबाट ३५ जना निर्वाचित भएका छन् । बाँकी सदस्यहरू महिला, आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, थारूलगायत समावेशी समूहबाट निर्वाचित भएका छन् ।

२०७८ सालको जनगणनालाई आधार मानेर क्लस्टर निर्धारण गरिएको थियो । जस अनुसार खसआर्य, जनजाति, मधेशी, दलितलगायत समुदायको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गरिएको हो । मुस्लिम कोटाबाट दुई जना र थारू कोटाबाट दुई जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा कुल ३८४ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये भूगोल तर्फबाट १७४ जना र खुलातर्फ २१० जनाले प्रतिस्पर्धा गरेका थिए । निर्वाचित ९९ जना केन्द्रीय सदस्यसँगै सभापति लामिछानेले थप १२ जना पदाधिकारीसहित ५० जना सदस्य मनोनीत गर्ने पार्टी विधानमा व्यवस्था छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button