
काठमाडौँ, असार १० गते । लियोनेल मेस्सी, फुटबलप्रेमी धेरैका लागि परिचित नाम । विलक्षण खेल प्रतिभाका कारण विश्वभर मेस्सीका करोडौँ समर्थक छन् ।
जारी विश्वकप फुटबलको समूह चरणका खेलकै क्रममा मेस्सिले आफ्नो त्यही प्रतिभालाई प्रमाणित गर्दै विश्वकपमा सर्वाधिक गोलकर्ता बनेर नयाँ इतिहास बनाइसक्नुभएको छ । यससँगै मेसी र उहाँको देश अर्जेन्टिनाको झन् चर्चा चुलिएको छ ।
नेपालमा पनि अर्जेन्टिना र त्यसमा खास गरी मेसी मन पराउने ठुलो सङ्ख्या छ । मेस्सीसँग नेपाली समर्थकको जुन भावनात्मक सम्बन्ध छ उहाँको देश अर्जेन्टिनासँग नेपालको व्यापारिक सम्बन्ध झन् प्रगाढ बन्दै गइरहेको छ ।
भूगोलको हिसाबले १६ हजार किलोमिटरभन्दा टाढाको दक्षिण अमेरिकी मुलुक अर्जेन्टिना नेपालको तेस्रो ठुलो व्यापारिक साझेदार हो । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनासम्म नेपालले अर्जेन्टिनाबाट एक खर्ब पाँच अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको छ । अर्जेन्टिनाभन्दा माथि छिमेकी मुलुक चीन र भारत मात्र छन् । त्यस्तै नेपालले अर्जेन्टिनामा एक करोड ५२ लाख रुपियाँको वस्तु निर्यात गरेको छ । आयातको तुलनामा अर्जेन्टिनासँगको निर्यात अत्यन्त कम हो ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारमा खासै दृश्यमा नरहेको अर्जेन्टिना पछिल्ला वर्षमा प्रमुख व्यापारिक साझेदार बन्नुमा भने भारतीय बजार प्रमुख कारण रहेको छ । ११ महिनाको अवधिमा नेपालले अर्जेन्टिनाबाट ९० अर्बको कच्चा भटमास तेल र करिब १५ अर्बको कच्चा सूर्यमुखी तेल आयात भएको छ । अर्जेन्टिनाबाट आयात गरिएको कच्चा तेल नेपालले निर्यात गरे पनि यसको प्रमुख बजार भने भारत हो । भारतले यस्तो तेलमा ४० प्रतिशतभन्दा बढी भन्सार लगाएका कारण व्यापारीहरूले नेपालमा प्रशोधन गरेर भटमास तेल र सूर्यमुखी तेल भारत निर्यात गर्दै आइरहेका छन् ।
भारतसँगको साफ्टा व्यापार सुविधा अन्तर्गत नेपालले आफ्ना उत्पादन निर्यात गर्दा भन्सार छुट, सहज पहुँचलगायतको सुविधा पाउँछ । यस्तोमा बढीमा पाँच प्रतिशत भन्सारदरमै नेपालबाट भारतमा वस्तु निर्यात गर्ने सुविधा उपलब्ध हुन्छ । यसले गर्दा नेपालबाट निर्यात गर्दा भटमास र सूर्यमुखी तेल सस्तो पर्न जान्छ । व्यापारमा उपलब्ध यही सुविधाको उपयोग गर्दै उद्योगीहरूले भटमास र सूर्यमुखी तेलको प्रमुख उत्पादकमध्येको अर्जेन्टिनाबाट कच्चा भटमास र सूर्यमुखी तेल नेपालमा ल्याएर प्रशोधन गरेर भारत निर्यात गर्दै आएका छन् ।
प्रशोधित तेलको यस्तो व्यापारले नेपालको निर्यातलाई नै ऐतिहासिक रूपमा उच्च विन्दुमा पु¥याइदिएको छ । भन्सार विभागका अनुसार नेपालले जेठसम्म दुई खर्ब ७८ अर्ब रुपियाँको वस्तु निर्यात गर्दा त्यसको ४१ प्रतिशत हिस्सा मात्रै भटमास तेलले ओगटेको छ ।
यस अवधिमा नेपालले एक खर्ब १३ अर्ब १८ करोड रुपियाँको भटमास तेल भारतमा निर्यात गरेको छ । प्रशोधित भटमास तेलका लागि कच्चा पदार्थ उही मेसीकै देश अर्जेन्टिनाबाट आयात भएको हो ।गोरखापत्र अनलाइन



