
पूर्वजनमुक्ति सेना खड्कबहादुर राना भैँसी फार्ममा । तस्बिर : कमल शर्मा
कमल शर्मा
दैलेख, जेठ ४ गते । घना जङ्गलको अँध्यारो रात, गोलीको आवाज र विस्फोटको गुञ्जन यी दृश्य अझै दैलेखको नौमुले गाउँपालिका–६ का खड्गबहादुर रानाको स्मृतिमा ताजै छ । युद्धका ती दिन सम्झँदा उहाँको मन आज पनि भारी हुन्छ, शरीर काँपे जस्तो हुन्छ । तत्कालीन द्वन्द्वकालमा काँधमा बन्दुक बोकेर युद्ध लड्नुभएका राना अहिले त्यही काँधमा दुधको भारी बोकेर हिँडिरहनुभएको छ ।
२०५७ सालमा उहाँ भैरव माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै हुनुहुन्थ्यो । गाउँमा जनयुद्धको प्रभाव फैलिरहेको थियो । खड्गबहादुर पनि त्यही सपनाबाट प्रभावित हुनुभयो । “गरिब र सर्वहारा वर्गको दिन आउँछन् भन्ने विश्वास थियो,” उहाँ सम्झनुहुन्छ, “त्योबेला बन्दुक समात्नु नै सही बाटो लाग्थ्यो ।” त्यही युद्धका क्रममा उहाँ घाइते हुनुभयो । “शरीरभित्र गाडिएका छर्राले बेला बेला पीडा दिन्छ । अहिले पनि बेला बेला दुख्छ,” उहाँ भन्नुहुन्छ ।
त्यसपछि उहाँ नौमुले, अछाम, रोल्पा, खारा, गामसिम्लेलगायत धेरै लडाइँमा सहभागी हुनुभयो । उहाँका अनुसार त्यतिबेला जङ्गल नै जीवन थियो, भोक, थकान र अनिश्चितबिचको सङ्घर्ष । उहाँ भन्नुहुन्छ, “साथीहरू सँगै हिँड्थे तर बिहान उठ्दा कोही नहुने अवस्था पनि आउँथ्यो ।” युद्धको सबैभन्दा ठुलो चोट शरीरमा होइन, मनमा बस्यो । शान्ति वार्ताको दुई दिनअघि उहाँका भाइ सन्तबहादुर राना बाँकेको चपरगौडीमा दोहोरो भिडन्तमा मारिनुभयो । घर फर्कने एउटै सपना बोकेका दुई दाजुभाइमध्ये एउटा कहिल्यै फर्किएनन् । “ऊ घर फर्किन पाएन,” उहाँले स्वर भारी पार्दै भन्नुभयो । भाइको एउटा छोरी र श्रीमती छन् । भाइको मृत्युले परिवार भत्कियो । आमाबुवाको जीवनमा ठुलो चोट प¥यो । त्यसपछि खड्गबहादुरको मन पनि युद्धबाट टाढा हुँदै गयो ।
शान्ति प्रक्रिया सुरु भएपछि कतिपय साथी सेना समायोजनमा गए, कतिपय राजनीतिमा लागे तर खड्गबहादुर भने भारत र त्यसपछि खाडी मुलुक दुबई पुग्नुभयो । उहाँ भन्नुहुन्छ, “युद्ध सकियो तर जीवनको सङ्घर्ष सकिएको थिएन ।” अरूको देशमा पसिना बगाउँदा पनि उहाँको मन गाउँमै अडिन्थ्यो । अन्ततः उहाँ गाउँ फर्किनुभयो । फर्किंदा न सम्पत्ति थियो न सुरक्षित भविष्य, केवल स्मृति र घाउहरू थिए । त्यसपछि उहाँले विदेश छोडेर गाउँमै बस्ने निर्णय गर्नुभयो । ९२ वर्षका बुवा, जो भारतीय सेनाबाट अवकाशप्राप्त हुनुहुन्थ्यो अहिले प्यारालाइसिसले थला पर्नुभएको छ । उहाँकै स्याहार र घरको जिम्मेवारीले खड्गबहादुरलाई गाउँमै रोक्यो ।
बुवाको हेरचाह र आयआर्जन दुवै उद्देश्यले देवकृषि पशुपन्छी फार्म दर्ता गर्नुभयो । तीन लाख रुपियाँबाट सुरु गरेको व्यवसाय अहिले १० लाखभन्दा बढी छ । आज उहाँसँग चार वटा दुहुना भैँसी छन् । पाडापाडी गरेर नौ वटा पशु छन् । दुध बिक्रीबाट मासिक करिब ३० हजार रुपियाँ आम्दानी हुन्छ । पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट एक लाख रुपियाँ अनुदान पाउनुभएको छ ।
त्योबाहेक अन्य सहयोग नपाउनुभएका रानाले आफूलाई सरकारले सहयोग गरेको खण्डमा युवालाई स्वदेशमै रोजगारी दिने योजना सुनाउनुभयो । बिहान घाँस काट्ने, भैँसी दुहुने र दुध बजार पु¥याउने, यही अहिले उहाँको दैनिकी बनेको छ । “पहिले काँधमा बन्दुक हुन्थ्यो,” उहाँ हल्का मुस्कुराउँदै भन्नुहुन्छ, “अहिले दुधको कित्ली छ ।” त्यो मुस्कानभित्र अझै अधुरो युद्ध बाँकी छ, छोराछोरीलाई राम्रो शिक्षा दिने सपना ।
त्यस्तै पूर्वजनमुक्ति सेना नौमुले गाउँपालिका–६ का धनबहादुर तारामी मगरले व्यावसायिक तरकारी खेती गर्नुभएको छ । खड्ग रानाको घरछेउमै उहाँले तारामी आधुनिक नर्सरी कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर चार रोपनी खेतमा व्यावसायिक तरकारी खेती गरिरहनुभएको छ । नौमुले बजारनजिक भएका कारण पनि बिहान र बेलुका तरकारी लिन व्यापारी घरमै पुग्ने भएपछि सिजनमा उहाँलाई तौलेर दिन भ्याइनभ्याइ हुने गरेको तारामीले बताउनुहुन्छ ।गोरखापत्र अनलाइन



