
मरुवा रोग लागेको धानबाली भएको स्थानमा पुगेका कृषि प्राविधिकको टोली । तस्बिरः अमरराज नहर्की
अमरराज नहर्की
तनहुँ, जेठ १४ गते । धान खेतीमा मरुवा (ब्लास्ट) रोगको प्रकोप देखिएपछि तनहुँका किसान चिन्तित बनेका छन् । मेहेनत गरी हुर्किएको बाली भित्र्याउने बेलामा रोगले गर्दा बोटमै सुक्न थालेपछि कृषकहरूमा निराशा छाएको हो ।
धान बालीमा रोग तथा किराको प्रकोप बढेर किसान मर्कामा परेपछि कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकाका कृषि क्षेत्रमा प्राविधिकहरू खटाएको छ । म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न प्रभावित क्षेत्रमा कृषि विज्ञ तथा प्राविधिकहरूको टोली रोगको निदान र नियन्त्रणका लागि कृषककै खेतबारीमा पुगेको छ । खेतमै पुगेर बालीको निरीक्षण गरिरहेको उक्त टोलीमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि अनुसन्धान केन्द्र पोखरा तथा कृषि विकास कार्यालयका विज्ञ प्राविधिक कर्मचारीहरू सहभागी छन् ।
टोलीले खेतबारीमै पुगेर बालीमा देखिएका रोग तथा किराको पहिचान गर्नुका साथै त्यसको नियन्त्रण, व्यवस्थापन र उत्पादन वृद्धिसम्बन्धी प्राविधिक सुझाव एवम् उपचार विधि प्रदान गरिरहेको कृषि विकास कार्यालयका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार धानको वृद्धि प्रभावित हुने तथा बोट सुक्दै जाने समस्या देखिएपछि प्राविधिक टोलीले रोग नियन्त्रणका लागि आवश्यक व्यवस्थापन विधिबारे कृषकलाई बुझाएको छ ।
मरुवा रोगका कारण चिन्तित बन्नुभएका म्याग्दे गाउँपालिका–२ का स्थानीय किसान रामबहादुर थापाले दुःख गरी हुर्काएको बाली नष्ट हुँदा ठुलो सङ्कट आइलागेको बताउनुभयो । मरुवा रोगले भटाभट बोट सुकाएर सखाप पार्न लागेको उहाँले बताउनुभयो । वर्षभरि के खाने भन्ने चिन्ताले पिरोलेका बेला प्राविधिकहरू खेतमै आएर दबाई हाल्ने र रोकथाम गर्ने उपाय सिकाइदिएपछि अलि राहत महसुस गरेका छन् ।
यसैगरी, म्याग्दे गाउँपालिका–३ मा धान बालीमा खैरो फड्के किराको प्रकोप देखिएको छ । उक्त किराले धानको बोटमा क्षति पुर्याई उत्पादनमा असर गर्ने भएकाले समयमै नियन्त्रणका उपाय अपनाउन किसानलाई सुझाव दिइएको परियारले जानकारी दिनुभयो । धानका अतिरिक्त आँबुखैरेनी गाउँपालिका–१ मा भने विभिन्न लहरे तरकारी बालीमा डाउनी मिल्ड्यू रोग देखिएको प्राविधिक टोलीले पहिचान गरेको छ । विशेषगरी लौका, करेला, काँक्रालगायत बालीमा देखिएको उक्त रोगका कारण पात पहेँलो हुने, बोट कमजोर बन्ने तथा उत्पादन घट्ने समस्या देखिएको किसानले बताएका छन् । प्राविधिकहरूले रोग नियन्त्रणका लागि खेत व्यवस्थापन, उचित विषादी प्रयोग तथा सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।
खेतबारीमा पुगेका प्राविधिकहरूसमक्ष किसानले यस वर्ष मौसम प्रतिकूलताले गर्दा गत वर्षको तुलनामा उत्पादन घटेको गुनासो समेत गरेका थिए । लगातारको वर्षा, असिना तथा हावाहुरीका कारण धान, तरकारी र मकै बाली प्रभावित भएको किसानको भनाइ थियो । कृषकहरूले विषादी प्रयोगसम्बन्धी अन्योल, समयमा पर्याप्त रासायनिक मल उपलब्ध नहुने समस्या तथा वर्णशङ्कर (हाइब्रिड) जातको कानुनी नियमनसम्बन्धी जिज्ञासा प्राविधिक टोलीसमक्ष राखेका थिए ।
सूचना अधिकारी परियारका अनुसार टोलीले किसानसँग प्रत्यक्ष छलफल गर्दै बाली संरक्षण, रोग तथा किराको पहिचान, सन्तुलित विषादी प्रयोग र माटो व्यवस्थापनसम्बन्धी प्राविधिक पृष्ठपोषण दिएको छ । “किसानले खेतबारीमै भोगिरहेका समस्या बुझेर तत्कालै समाधानका उपाय दिनु नै हाम्रो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो, “प्राविधिक टोलीले रोग र किराको पहिचानसँगै व्यवस्थापनका उपायबारे सुझाव दिएको छ र आगामी दिनमा पनि यस्ता स्थलगत प्राविधिक कार्यलाई निरन्तरता दिइनेछ ।”गोरखापत्र अनलाइन



