खबरसृजनाको चौतारी

भानु साहित्यिक प्रतिष्ठानद्वारा २१३ औँ आदिकवि भानुजयन्ती भव्य रूपमा मनाइने

मेचीनगर। झापाको मेचीनगरस्थित भानु साहित्यिक प्रतिष्ठानले २१३ औँ आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा मनाउने भएको छ। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिष्ठानले असार २७ र २९ गते विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको हो।

प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरेका अनुसार जन्मजयन्ती समारोहअन्तर्गत असार २७ गते प्रतियोगितात्मक कविता प्रतियोगिता सञ्चालन गरिनेछ भने असार २९ गते स्रष्टा सम्मान, साहित्यिक गोष्ठी, कविता वाचन, शुभकामना आदानप्रदान तथा सांस्कृतिक प्रस्तुतिसहित विशेष समारोह आयोजना गरिनेछ।

उनले जन्मजयन्ती समारोहलाई सफल बनाउन प्रतिष्ठानले विभिन्न साहित्यकार, स्रष्टा, शिक्षाविद्, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा साहित्यप्रेमीहरूलाई निमन्त्रणा वितरण सुरु गरिसकेको जानकारी दिए। अध्यक्ष घिमिरेले असार २७ र २९ गते आयोजना हुने कार्यक्रममा साहित्यप्रेमी सम्पूर्ण महानुभावलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन आग्रह समेत गरेका छन्।

नेपाली भाषाका अमर व्यक्तित्व आदिकवि भानुभक्त

नेपाली साहित्यका आदिकवि मानिने भानुभक्त आचार्यको जन्म विक्रम संवत् १८७१ असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो। संस्कृतका विद्वान् परिवारमा जन्मिएका भानुभक्तले नेपाली भाषामा साहित्य सिर्जना गरेर आम जनताको भाषामा काव्य लेखनको नयाँ परम्परा स्थापित गरेका थिए।

भानुभक्तको सबैभन्दा महत्वपूर्ण योगदान संस्कृत भाषामा रचित रामायणलाई सरल, सरस र जनबोलीको नेपाली भाषामा अनुवाद गर्नु हो। त्यसअघि धार्मिक ग्रन्थहरू संस्कृत भाषामा सीमित भएकाले सामान्य नागरिकको पहुँच बाहिर थिए। भानुभक्तले रामायणलाई नेपालीमा अनुवाद गरेपछि धार्मिक तथा नैतिक शिक्षासँगै नेपाली भाषाको विकासमा समेत ऐतिहासिक योगदान पुगेको मानिन्छ।

उनका प्रश्नोत्तर, बधूशिक्षा, भक्तमाला लगायतका कृतिहरू नेपाली साहित्यका महत्वपूर्ण सम्पत्ति मानिन्छन्। उनका कवितामा नैतिक शिक्षा, सामाजिक चेतना, धार्मिक भावना तथा जनजीवनका यथार्थ पक्षहरू प्रभावकारी रूपमा प्रस्तुत भएका छन्।

मेचीनगरस्थित भानु साहित्यिक प्रतिष्ठानले विगतदेखि नै साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ। प्रतिष्ठानले स्थानीय स्रष्टाहरूलाई प्रोत्साहन गर्ने, नयाँ पुस्तामा साहित्यप्रतिको रुचि बढाउने तथा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नियमित रूपमा साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

यस वर्षको २१३ औँ भानुजयन्ती समारोह पनि साहित्यकार, लेखक, कवि, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button