मूल खबर

एपिएफ स्कुलमा आर्थिक अनियमितता

काठमाडौँ, असार २२ गते । सशस्त्र प्रहरी बल नेपालको कल्याणकारी कोष अन्तर्गत सञ्चालित एपिएफ स्कुलमा भएको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले स्कुलकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र लीलाबहादुर लामालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले दुवै जनामाथि आपराधिक विश्वासघात, ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान सुरु गर्न लागेको छ ।

परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दुवै जनालाई शनिबार साँझ पक्राउ गरिएको र सोमबार अदालती प्रक्रिया पूरा गरेपछि थप अनुसन्धान अघि बढ्ने छ ।

उक्त स्कुलको रकम हिनामिना भएकोबारे सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डिआइजी) युवराज अर्यालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा शनिबार गुरुङलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानमा एपिएफ स्कुलबाट केन्द्रीय कल्याणकारी कोषमा जम्मा हुनुपर्ने रकम कनेक्ट आइपिएसमार्फत अन्य खातामा स्थानान्तरण गरिएको खुलेको छ । कनेक्ट आइपिएसका कागजातमा तत्कालीन समादेशकको हस्ताक्षर किर्ते गरिएको हुन सक्ने विषयमा पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

एपिएफ स्कुलबाट कोषमा जम्मा हुनुपर्ने रकम लामो समयसम्म नआए पनि आवश्यक अनुगमन र निगरानी प्रभावकारी हुन नसकेको निष्कर्ष छानबिनले निकालेको जनाइएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button