
तौलिहवा (कपिलवस्तु), असार २२ गते । कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित बन्द अवस्थामा रहेको एक राइस मिलबाट प्रहरीले सरकारी अनुदानको १८१ बोरा रासायनिक मल बरामद गरेको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका–८ स्थित राइस मिलमा छापा मार्दा युरिया १३८ र डिएपी ४३ गरी १८१ बोरा मल फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहका अनुसार बरामद गरिएको मल कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा शाखामा पठाइएको छ । मल कसको हो भन्ने खुल्न नसकेको तथा मिल सञ्चालकको खोजीका साथै घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
धान रोपाइँको समयमा किसानले रासायनिक मल अभाव झेलिरहेका बेला ठुलो परिमाणमा अनुदानको मल लुकाएर राखिएको अवस्थामा फेला परेपछि यसको कालोबजारीसँग सम्बन्ध हुन सक्ने आशङ्का गरिएको छ । किसानले अनुदानको मलको वितरण र बिक्री प्रक्रियामा प्रभावकारी अनुगमन हुनुपर्ने माग गरेका छन् ।
सरकारले स्थानीय तहको सिफारिसका आधारमा कृषि सहकारीमार्फत अनुदानको मल वितरण गर्दै आएको भए पनि केही सहकारीमार्फत कालोबजारी हुने गरेको किसानको गुनासो छ । नेपालमा अनुदानको युरिया मल केही उद्योगमा अवैध रूपमा प्रयोग हुने गरेको आरोपसमेत किसानले लगाएका छन् ।
नेपाल किसान सङ्घका सचिव बाल गोविन्द त्रिपाठीले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन तथा अनुदानको मलको कालोबजारी नियन्त्रण गर्न प्रहरी प्रशासन, स्थानीय तह र सम्बन्धित निकायले प्रभावकारी अनुगमन तथा कडा कारबाही अघि बढाउनुपर्ने बताउनुभयो ।
गोरखापत्र अनलाइन



