खबर

निजी बोरिङको पानीले मेटाउँदै सयौँ परिवारको तिर्खा

कृष्णपुर नगरपालिका–२ स्थित महेन्द्र राजमार्ग छेउको बोरिङबाट पानी भरिरहेका स्थानीय। तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, असार २६ गते । कृष्णपुर नगरपालिका–२ वाणीस्थित महेन्द्र राजमार्ग छेउमा निजी लगानीमा जडान गरिएको बोरिङको पानीले सयौँ परिवारको पिउने पानीको आवश्यकता पूरा गर्दै आएको छ। स्थानीयबासी मात्र होइन, राजमार्ग हुँदै यात्रा गर्ने यात्रु र पर्यटकसमेत यही पानी प्रयोग गर्दै आएका छन्।

बिहीबार साँझ ६ बजे १३ वर्षीया कोपिला भट्ट साथीसँग बाल्टिन र बोतल लिएर सडक छेउमा पानी भर्न पुग्नुभएको थियो। घरबाट करिब २०० मिटर पैदल हिँडेर पानी भर्न आउने उहाँले वर्षौंदेखि यही पानी प्रयोग गर्दै आएको बताउनुभयो।

“घरबाट बिहान–साँझ पानी भर्न पठाउनुहुन्छ। छिमेकी मेनुका चन्दसँग नियमित रूपमा यहीँ पानी भर्न आउँछु,” उहाँले भन्नुभयो।

शान्ति टोलकी ४८ वर्षीया पार्वतीदेवी बम पनि करिब एक किलोमिटर पैदल हिँडेर दैनिक पानी भर्न आउनुहुन्छ। उहाँका अनुसार वाणीस्थित होटल इटेन पार्कअगाडि रहेको बोरिङको पानी विगत १० वर्षदेखि खाना पकाउन र पिउन प्रयोग गर्दै आइएको छ।

“अरू भरपर्दो विकल्प छैन, त्यसैले यही पानी प्रयोग गरिरहेका छौँ,” उहाँले भन्नुभयो।

स्थानीयका अनुसार शान्ति टोलमा व्यवस्थित खानेपानी आयोजना नहुँदा सडक छेउमा स्थानीय समाजसेवीले जडान गरेको बोरिङ नै मुख्य भर बनेको छ। बिहान–बेलुका बाल्टिन, जर्किन र बोतल बोकेर पानी भर्न आउनेहरूको भीड लाग्ने गरेको छ।

स्थानीय निर्मला धामीले घरमा रहेको चापाकलबाट धमिलो, पहेँलो र गन्ध आउने पानी निस्कने भएकाले खाना पकाउन र पिउन यही बोरिङको पानी प्रयोग गर्दै आएको बताउनुभयो। उहाँका अनुसार यस बोरिङबाट झन्डै एक हजार परिवार लाभान्वित भएका छन्।

शान्ति टोलका अधिकांश घरमा जडान गरिएका चापाकलको पानी पिउन अयोग्य भएपछि स्थानीयहरू विगत १४ वर्षदेखि राजमार्ग छेउमा आएर पानी भर्ने गरेका छन्।

स्थानीयबासीका अतिरिक्त महेन्द्र राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा पर्यटक पनि गाडी रोकेर यही पानी पिउने गर्छन्। स्थानीयका अनुसार राति ११ बजेसम्म पनि बोरिङबाट पानी भरिरहेका मानिस देखिन्छन्।

कृष्णपुर नगरपालिका–२ का स्थानीय समाजसेवी सुरेन्द्रबहादुर बमले करिब १५ वर्षअघि १४ लाख रुपियाँको निजी लगानीमा यस क्षेत्रमा बोरिङ जडान गर्नुभएको थियो। उहाँले त्यसबेला आफ्नो घरसँगै स्थानीयबासीको खानेपानी समस्या समाधान गर्ने उद्देश्यले बोरिङ जडान गरिएको बताउनुभयो।

“त्यतिबेला चापाकलबाट पहेँलो पानी आउँथ्यो। सबैलाई स्वच्छ पानी उपलब्ध गराउने सोचले बोरिङ जडान गरेको हुँ,” उहाँले भन्नुभयो।

उहाँको होटल इटेन पार्कको भान्साबाट सञ्चालन हुने उक्त बोरिङमा पछिल्ला वर्षमा भूमिगत पानीको सतह घट्दै जाँदा पानीको बहाव पनि कम भएको छ। विगतमा २.५ इन्चसम्म पानी बग्ने बोरिङबाट अहिले करिब १.५ इन्च मात्र पानी आउने गरेको उहाँले बताउनुभयो।

बनहरा, वाणी आरक्ष पीडित शिविर र शान्ति टोलका स्थानीयले चौबिसै घण्टा निःशुल्क उपलब्ध हुने यही बोरिङको पानी पिउने तथा खाना पकाउने प्रयोजनमा प्रयोग गर्दै आएका छन्।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button