
कान्सास सिटी, असार २६ गते । मिडफिल्डर जोर्डन हेन्डरसनले चोटमुक्त भएर टिममा सहभागी भएपछि नर्वेसँगको क्वाटरफाइनल खेलअघि इङ्ग्ल्यान्डलाई राहत मिलेको छ ।
गत हप्ता मेक्सिकोविरुद्धको अन्तिम १६ को खेल जितेपछि खुसी मनाउने क्रममा बायाँ नाडीमा लागेको चोटको शल्यक्रियापछि हेन्डरसन खेल्न तयार हुनुभएको हो । ३६ वर्षीय अनुभवी खेलाडी हेन्डरसनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शल्यक्रिया सम्पन्न । अब शनिबार हुने ठुलो खेलका लागि तयार भएको छु ।”
इङ्ग्ल्यान्डका अर्का मिडफिल्डर मोर्गन राजर्सले हेन्डरसनले मैदानमा खेलेर अथवा बेन्चमै रहेर भए पनि टिमको साथ दिने बताउनुभएको छ । हेन्डरसनले यस विश्वकपमा पनामाविरुद्ध मात्र खेल्नुभएको छ । जुन उहाँको ९१ औँ अन्तर्राष्ट्रिय खेल थियो । हेन्डरसन विश्वकपमा चार संस्करणमा खेल्ने इङ्ग्ल्यान्डका पहिलो खेलाडी पनि हुनुहुन्छ । सन् २०१० मा हेन्डरसनले इङ्ग्ल्यान्डका लागि पहिलो खेल खेल्नुभएको थियो ।
इङ्ग्ल्यान्डले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको ६० वर्ष पुगिसकेको छ । विश्व फुटबलमा बलियो राष्ट्र इङ्ग्ल्यान्डले सन् १९६६ मा जितेको सो विश्वकप अहिलेसम्मकै एक मात्र प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो । त्यसपछि इङ्ग्ल्यान्डले कैयौँ पटक नजिक पुगेर पनि प्रमुख उपाधि जित्न सकेको छैन । पछिल्ला आठ वर्षको मात्र कुरा गर्ने हो भने इङ्ग्ल्यान्ड विश्वकप–२०१८ को सेमिफाइनल तथा युरो च्याम्पियनसिप–२०२१ र २०२४ को फाइनलमा पुगेको थियो । इङ्ग्ल्यान्ड यसपालि विश्वकप उपाधिको पर्खाईलाई समाप्त पार्ने दाउमा छ। एपी
गोरखापत्र अनलाइन



