मूल खबरहेड लाइन

प्रधानमन्त्री शाहसँग ऊर्जा उत्पादकहरूको छलफल

ऊर्जा आर्थिक रूपान्तरणको आधार

काठमाडौँ, असार २७ गते । निजी क्षेत्रकेन्द्रित समृद्धि संवादमा अग्रसर रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पानका) पदाधिकारीसँग वस्तुगत छलफल गर्नुभएको छ । प्रधानमन्त्री शाहसँग ऊर्जा क्षेत्रको विद्यमान अवस्था, समस्या र तिनको समाधानकेन्द्रित छलफल भएको इप्पानले जनाएको छ ।

छलफलमा जलविद्युत् आयोजना निर्माणका विद्यमान व्यवधान, प्रसारण लाइन र विद्युत् व्यापारमा निजी क्षेत्रको सम्भावित भूमिका, डेटा सेन्टर तथा मल कारखाना निर्माण, विद्युत् आयोजनाका सार्वजनिक सेयर निष्कासन, लाइसेन्स होल्ड गर्ने प्रवृत्तिका विषयमा वस्तुगत संवाद भएको इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले जानकारी दिनुभयो ।

महासचिव टिएन आचार्यका अनुसार प्रधानमन्त्री शाहले छ मुख्य विषयमा गम्भीर चासो राख्नुभएको थियो । विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्ने तर लामो समय आयोजना निर्माण नगर्ने प्रवृत्ति र त्यसको वास्तविकताबारे प्रश्न राख्नुभएको थियो । त्यसै गरी प्रसारण लाइन निर्माण र विद्युत् व्यापारमा निजी क्षेत्रलाई समावेश गराउन के कस्तो तरिका सहज हुन सक्छ भन्ने राय प्रधानमन्त्रीले राख्नुभएको थियो । निजी क्षेत्र यी विषयमा अग्रसर हुँदा राज्यलाई हुने लाभहानिको अवस्थाबारे समेत तथ्याङ्कगत विश्लेषण पेस गर्न प्रधानमन्त्री शाहले आग्रह गर्नुभएको पूर्वअध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो । “विगतमा यसखाले उच्चस्तरीय भेटघाटमा माग राख्ने र सबै गर्छौं भन्ने आश्वासन लिएर फर्कने अवस्था हुन्थ्यो,” उहाँले भन्नुभयो, “तर यस पटक बुँदा बुँदामा वस्तुगत कुराकानी भयो । यसले हामीलाई ठुलो आशाको सञ्चार गरेको छ ।”

प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण र हरित विकासको महत्वपूर्ण आधार रहेको बताउनुभयो । नेपालमा ऊर्जा उत्पादन र प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौतीबारे इप्पानले उठाएका विषयप्रति सरकारले गम्भीरतापूर्वक लिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री शाहले नेपालमा डेटा सेन्टर र मल कारखाना खोल्न के कस्ता अवरोध छन् भन्नेबारे पनि प्रश्न गर्नुभएको थियो । जलविद्युत् आयोजनाको साधारण सेयर जारी गर्ने तर आयोजना नबनाउने प्रवृत्तिबारे पनि प्रधानमन्त्री शाहले विशेष चासो राख्नुभएको थियो । पिपिए भएर निर्माणाधीन रहेका, नबनेका तथा लाइसेन्स मात्र होल्ड गरेर बसेको एउटा मापदण्डका आधारमा समाधान गर्नुपर्ने आशय प्रधानमन्त्रीको रहेको महासचिव आचार्यले बताउनुभयो ।

छलफलमा इप्पान प्रतिनिधिमण्डलले सरकारले घोषणा गरेको १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनदेखि हरित अर्थतन्त्र निर्माण, विद्युत् निर्यात तथा खपत वृद्धि जस्ता लक्ष्य प्राप्तिका लागि निजी क्षेत्र पूर्ण प्रतिबद्ध रहने धारणा राखेको थियो । उहाँहरूले पिपिएमा भइरहेको अवरोध, वन तथा जग्गा स्वीकृतिमा हुने गरेको ढिलाइ, प्रसारण पूर्वाधारको अभाव, आइपिओ र हकप्रद सेयर अभौतीकरणका समस्या, बहुनियमकीय झन्झट तथा नीतिगत अनिश्चितताका विषयमा प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउनुभएको थियो ।

सरकारको घोषित ऊर्जा लक्ष्य हासिल गर्न तथा निजी क्षेत्रको लगानी सुरक्षित, तीव्र र परिणाममुखी बनाउन यस्ता समस्या समाधान आवश्यक रहेकामा जोड दिइएको थियो । इप्पान प्रतिनिधिमण्डलले रोकिएको पिपिए प्रक्रिया खुला गर्नुपर्ने, स्टोरेज तथा पम्प स्टोरेज परियोजनाका लागि छुट्टै र उचित दर तोक्नुपर्ने धारणा बैठकमा राखेको थियो । आन्तरिक खपत बढाउन औद्योगिक ग्राहकलाई सस्तो दरमा विद्युत् उपलब्ध गराउनुपर्ने पनि प्रतिनिधिहरूको सुझाव थियो । इप्पानले संसद्मा विचाराधीन विद्युत् विधेयकलाई निजी क्षेत्रमैत्री बनाएर एक वर्षभित्र पारित गराउनु अत्यावश्यक रहेको बताएको छ । त्यस्तै वन जग्गा प्राप्ति र रुख कटान प्रक्रिया एक वर्षभित्र सक्ने व्यवस्था मिलाउने तथा ‘सनसेट ल’ ल्याउनुपर्ने माग राखेको छ । छिमेकी मुलुकसँग विद्युत् व्यापारका लागि स्पष्ट निर्देशिका बनाएर विद्युत् व्यापारको अनुमतिपत्र दिनुपर्ने माग इप्पानले उठाएको थियोे ।

जलविद्युत् क्षेत्रका लागि विशेष ऊर्जा कोष स्थापना गर्नुपर्ने, ग्रिन बन्ड र जलवायु वित्त तथा वैदेशिक र मिस्रित लगानीको पहुँच विस्तार गर्न अर्थ मन्त्रालय तथा नेपाल राष्ट्रबैङ्कमार्फत निर्णय गराउन आवश्यक रहेको प्रधानमन्त्रीसमक्ष औँल्याइएको थियो ।

प्रसारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकताको विषय बनाई ग्रिड पहुँचलाई सरल र विकासकर्तामैत्री बनाउनुपर्ने पनि इप्पानले माग राखेको छ । ग्रिड स्थायित्वका लागि ब्याट्री स्टोरेजलाई प्राथमिकता दिने, हरित हाइड्रोजनको अनुसन्धान र पाइलट परियोजना सञ्चालन गर्ने व्यवस्था गर्न पनि प्रधानमन्त्री शाहसमक्ष आग्रह गरिएको थियो ।

छलफलमा प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र प्रमुख स्वकीय सचिव सुवास शर्मा सहभागी हुनुहुन्थ्यो । इप्पानका तर्फबाट वरिष्ठ उपाध्यक्ष लामा, पूर्वअध्यक्ष कार्की, उपाध्यक्षहरू सुसन कर्माचार्य, हिम पाठक र महासचिव आचार्य सहभागी हुनुहुन्थ्यो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button