
कालिकापीठ कालीस्थानको २३ औं बार्षिक अनुष्ठानको अवसर पारेर आगामी पुस ७ गतेदेखि १३ गतेसम्म श्रीमद् बृहद्नारदीय महापुराण आयोजना गरिने भएको छ ।
पीठ ब्यवस्थापन समितिको बैठकको निर्णयानुसार राष्ट्रशान्तिको कामना, पीठमा स्थापित अक्षयकोषको अभिबृद्धि, पीठका दिवंगत आजीवन सदस्य एवं पितृ उद्दारको कामनासहित सप्ताहब्यापी संगीतमय श्रीमद् बृहदनारदीय महापुराण, धनधान्याचल, महायज्ञ, दैनिक रुद्राभिषेक महायज्ञ आयोजना गर्न लागिएको हो ।
अर्जुनधारा नगरपालिका वडा नं–९ कालीस्थान चोकबाट पश्चिम–उत्तर दिशामा अवस्थित कालिकापीठ देवीको सिद्ध शक्तिपीठहरुमध्ये एक हो । असूरहरुको बध गर्ने क्रममा जगदम्बा माताले कञ्चनजंघा हिमालबाट चालेको पहिलो पाइलो ताप्लेजुङको पाथीभरामा, दोस्रो पाइला झापाको कालिकापीठमा र तेस्रो पाइलो भारतको कोलकतास्थित कालीमाडीमा परेको भन्ने प्रमाण विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ । यही तथ्यलाई वि.सं. २०३३ सालमा कालिकापीठमा आयोजित बृहद आध्यात्मिक सम्मेलनमा योगी नरहरी नाथले पुष्टी गरिदिएपछि पीठको महत्व थप बढेर गएको हो ।
मानव वस्ती शुरु भएदेखि नै कालिकापीठ परिसरमा रहेको अक्षय बृक्षमुनी स्थानीयले पूजा–पाठ गर्दै आएको भएपनि पीठको ब्यवस्थापन गर्ने क्रममा २०५४ सालमा ज्योतिषाचार्य पण्डित लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा कालिकापीठ ब्यवस्थापन समिति बनेको थियो । सो समितिले भौतिक विकास निर्माण प्रारम्भ गरेसँगै पीठमा हाल लगभग १० करोड बढीका संरचना निर्माण भइसकेका छन् । निर्माण कार्यका लागि हालसम्म सरकारी बजेट नपुगेको पीठ ब्यवस्थापन समितिले जनाएको छ ।

पूर्वीय वैदिक सभ्यता र संस्कृतिको संरक्षणार्थ २०६३ सालबाट निःशुल्क रुपमा गुरुकुलिन पद्धतिबाट दुर्गा सप्तसती, रुद्राष्टाध्यायी, वेद, ब्याकरण, पुराण लगायतका धर्मग्रन्थ, कर्मकाण्ड एवं नीतिशास्त्रहरुको अध्यापन गराइदै आएको छ । हाल पीठमा ६० बढी विद्यार्थी खाद्यान्न र आवास सुविधासहित निःशुल्क अध्ययन गरिरहेको पीठका प्राचार्य आ. रघुनाथ रिजालले जानकारी दिनुभयो ।
झापाको मुख्य बजार विर्तामोडबाट लगभग साढेसात किमि पूर्वोत्तरमा रहेको पीठमा जान धाइजनबाट लगभग अढाइ किमि पश्चिम, शनिश्चरे बजारमा डेढ किमि पूर्व र जयपुरबाट लगभग तीन किमि दक्षिणपूर्वमा कालिकापीठ अवस्थित छ ।
यसैबीच आगामी पुस ७ गतेदेखि शुरु हुन लागेको सप्ताहब्यापी ज्ञान महायज्ञ सभ्य, भब्य र मर्यादित बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
जस अन्तरगत डिल्लीराम दाहालको संयोजकत्वमा गठित प्रचार–प्रसार समितिका सदस्यहरुमा रुपनारायण भण्डारी, इन्दु पूर्वेली, दिपक हुमागाई, रुद्र ढुङ्गेल, रमा गिरी, नरबहादुर खड्का, टंक पोखरेल रहनुभएको छ ।
अर्थ संकलन एवं ब्यवस्थापन समिति संयोजक खडानन्द खतिवडा र सदस्यमा भानु निरौला, गेट निर्माण तथा पण्डाल ब्यवस्थापन संयोजक कर्णबहादुर तामाङ रहनुभएको छ भने सदस्यमा भानु निरौला, रेनु बस्नेत, सुरेश आचार्य रहनुभएको छ ।
पूजा ब्यवस्थापन समिति संयोजकमा रेनु बस्नेत चयन हुनुभएको छ । समितिका सदस्यहरुमा गान्धारी मिश्र, शावित्रा मिश्र, कमला पोखरेल, देवीमाया पोखरेल, माया आचार्य रहनुभएको छ ।
खाद्यान्न ब्यवस्थापन समिति संयोजकमा प्रेमप्रसाद पोखरेल चयन हुनुभएको छ । यसैगरी मण्डप ब्यवस्थापन समिति संयोजकमा आ.रघुनाथ रिजाल, उमाकान्त चापागाई रहनुभएको छ भने सुरक्षा समिति संयोजकमा मनोज गोम्देन र मनास्लु युवा क्लवलाई सदस्यमा चयन गरिएको छ ।
यसैगरी रात्रीकालीन जागरण कार्यक्रम संयोजकमा कर्णबहादुर तामाङ र सदस्यमा इन्दु पूर्वेली, धनधान्याचल ब्यवस्थापन समिति संयोजकमा गान्धारी मिश्र र सदस्यमा निलकण्ठ नेपाल, विन्दु मिश्र, तारा गिरी, द्रोण ढुङ्गेल, मनोज कडेल, भीम कार्की, ब्रम्हलाल सुवेदी, पीठका विद्यार्थीहरु रहेका छन् ।
पुस ७ गते विहान १० बजेदेखि कलशयात्रा शुरु गरी समुद्घाटन हुने महायज्ञमा ८ गतेदेखि १२ गतेसम्म विहान ७ बजेदेखि मण्डप पूजा, ९ बजेदेखि पुराण पाठपारायण एवं ११ बजेदेखि ३ बजेसम्म संगीतमय कथा प्रवचन, साँझ ६ः३० देखि ८ः३० बजेसम्म रात्रीकालीन जागरण कार्यक्रम रहनेछन् । पुस १२ गते साझ लक्ष्यवर्ती प्रज्वलन एवं १३ गते पूर्णाहुती कार्यक्रम तय गरिएको कालीकापीठ ब्यवस्थापन समितिले जनाएको छ ।


