विचार

लोकतन्त्रको धज्जी र एजेण्टको आरोप

जी एन शर्मा
अहिले एक खालका मान्छे घुमाईफिराई लोकतन्त्रको धज्जी र नेताहरुको बद्नाम गर्ने एकोहोरो ध्याउन्न र जोडबलले लागेकाछन् । खास गरेर सामाजिक क्षेत्रमा हिजो सम्म गुमनाम जस्ता देखिएका मान्छेहरु अहिले एक्कासी धेरै खालका बिश्लेषकको फुर्को बाँधेर आफ्नो शीरदेखि पाउ सम्मको ल्याकत लोकतन्त्रको धज्जी उडाउन र नेताहरुको बद्नाम अर्थात जसलाई पनि एजेण्टको पगरी गुथाएर बेसुरमा आरोप लगाउने खेती गर्न मस्त देखिन्छन् । सर्व साधारण जनतालाई एकोहोरो रुपमा लोकतन्त्रले के दियो ? यी नेता भनेका सबै बिदेशीका एजेण्ट हुन् जस्ता कपोकल्पीत र असत्यको पराकाष्ठका तर सुन्दा सबै ठिक जस्तो लाग्ने गरेर एकोहोरो जनअधिकारको दोहन गर्न कन्दनी सुर्केर लागेकाछन् ।
बिशेष गरेर हिजोका दिन सम्म घुमाईफिराई पञ्चायतको पृष्ठभूमीका, समाजमा कुनै प्रकारको सामाजिक योगदान नभएका, राजनीतिक रुपमा असफल, सधै अरुलाई बेठीक देख्ने सोच बोकेका र आफ्ना निहित स्वार्थ पुरा गर्न नपाएर बाउँठिएकाहरु आज एकाएक देशभक्त र ठूला बिश्लेषक बनेर युटुबले लगाईदिएका मानार्थ उपाधीबाट बिभूषित बनेर जस्तै सामाजिक सञ्चालमा चर्का र खरा कुरा गरेको सुनिन्छ र देखिन्छ । फरक पात्र र अनुहार बोकेका भएपनि यी सबैको उद्देश्य भनेको लोकतन्त्रलाई बद्नाम गराएर केही नेताहरुलाई अनाबाश्यक आरोप र गाली गरेर आफ्ना मालिकहरुको तथास्तु पाउनुनै हो ।
कतिपय महोदयहरु सरकारी जागीरबाट पेन्सन थापेर त कति महाशयहरु आफ्नो क्षमताको अल्प ज्ञानका कारण भौँतारिएर अहिले सबै भन्दा सजिलो खेतीपाती भनेको गाली गर्नु हो र अहिले नेपाली समाजलाई सकारात्मक सोच भन्दा नकारात्मक विचार र उत्तेजनाले आफुतिर आर्कर्षित गर्न सकिन्छ भन्ने मनोबिज्ञानका आधारमा आफुहरुलाई माहात्मा र अति उच्च पवित्र ज्ञानी ठानेर बाँकी सबैलाई पटमूर्ख बनाउने दाउपेचमा लागेकाछन् । यो समूह अहिले सबै भन्दा खरो जनपक्षीय र देशका सपुत जस्तो पाखण्डका साथ ईतिहाँसको शिखरलाई कुइनाले ट्वाक्क पार्दा पो केही लछारपाटो लाग्छ कि भनेर मच्चीमच्ची भकानभका कैरन फलाकी रहेकाछन् ।
ईतिहाँसमा पहिलो पटक बनेको कम्युनिष्टको बहुमतको सरकारका बिरुद्द अहिले विश्व साम्राज्यवाद, भारतीय बिस्तारबाद र देशीबिदेशी प्रतिकृयाबादी तत्वहरु के गर्दा यो सरकारलाई बद्नाम गर्न सकिन्छ भनेर लागेको कुरा कसैबाट छिपेका छैन । एक पटक बनेको कम्युनिष्टको सरकारले लोकपृय काम ग¥यो भने नेपालमा सधैका लागि जनताको रोजाई भनेको कम्युनिष्ट बन्न सक्छ भन्ने कुरालाई होशीयारसँग प्रतिगामी तत्व र त्यसका एजेण्टहरुले मसिनो गरि अध्ययन गरिरहेको वर्तमानमा उनीहरुकै भरौटेहरुले बिभिन्न रुप र रङ्गमा लोकतन्त्रको मानमर्दन गर्ने गरि सुनयोजित रुपमा बिभिन्न कोणबाट अफबाफ चलाउने कुराबाट सबै सचेत बन्न आबाश्यक छ । आफु बाहेक सबैलाई एजेण्ट र दलाल भन्नेहरु कसका धुपौरे र गोठाला मात्र हुन् भन्ने कुरा बिस्तारै पुष्टि हुदै जान्छ । तर, यहाँ सोचनिय विषय त यो पनि छ कि स्वयम् कम्युनिष्टको सरकार भनिएको यो सरकारको शैली हेर्दा कम्युनिष्टको नभएर जसले लोकतन्त्र र आन्दोलनका नेताहरुलाई अहिले बद्नाम गराउन लागेकाछन् उनीहरुलाईनै सहयोग पुग्ने गरि जनताका आधारभूत आबाश्यकता भन्दा पनि ठुलाठालुकै वरिपरि त सरकार घुमेको छैन ? जस्तो गरेर गतिविधी गरेकाले पनि आरोपका महागुरुहरुलाई अहिले मनलाग्दी बोल्न अबसर मिलेको छ ।
हाम्रा नेताहरुमा दुरदर्शीता र आफ्नो स्वबिवेकको धेरथोर कमजोरी छ अनि अलिक बढी सत्ताको मोह र निजि स्वार्थ बढेको सत्य हो तर यसको अर्थ यो होइन कि हाम्रा सबै नेताहरु आफ्नो पद र शक्तिका लागि एजेण्टकै रुपमा कसैसँग लम्पसार परेकाछन् । कतिपय समय र अवस्थामा कुटनीतिक चातुर्यताको अभावले उनीहरुले कमजोरी नगरेका होइनन् , आफ्नो राजनीतिको यात्रा बेलाबेलामा आफन्त र आफ्ना आसेपासेमा अल्झेको कुरा हामी सबैका लागि नौलो होइन तर यसको अर्थ यो होइन कि हाम्रा सबै नेतामा आफ्नो र आफ्ना भन्नेहरुको दुनो सोझ्याउनका लागि राजनीति गरेका हुन् भनेर उनीहरुको राजनीतिलाई बुझ्न पनि बेठिक हुन्छ । तर, आजका एक थरि स्वघोषित पण्डितहरु लोकतन्त्रको धज्जी उडाउन र सबै नेताहरुलाई एउटै मिटरले नापेर एजेण्ट, दलाल र यस्तै यस्तै आरोप लगाउन मस्त रहेकाछन् । को कसको एजेण्ट हो भनेर कसैले पत्तो लगाउन भनेका उ पनि कसैको एजेण्ट वा गोठालो हो भनेर ठम्याउन सकिन्छ । यसर्थ कसैका खरा कुरा वा विषयले क्षणभरका लागि हाम्रो दिमाग र मनमा छोए पनि विषय एउटा प्रकारको भएपनि त्यसका कारण धेरै हुन्छन् भनेर हामीले हेक्का राख्नु पर्छ ।
सुन्दा राम्रो लाग्ने भाषा जस्तो भएपनि त्यसको कारक तत्व र कारण भने सबैका लागि अहितको पनि हुन्छ । अहिले जसरी एक खालका मान्छे भएन भएन भनेर चिच्याईरहेकाछन् हिजो उनीहरुले समाजका लागि कस्तो सकारात्मक योगदान आफ्नो क्षेत्रबाट गरेका थिए भनेर पनि हामीले मूल्याङ्न गर्न आबाश्यक छ । लोकतन्त्र आफैमा खराब प्रणाली होइन , केही मान्छेहरुले यसलाई आफ्नो स्वार्थसिद्धका लागि मनलागी गरेको पनि सत्य हो तर यसको अर्थ यो होइन कि लोकतन्त्र भनेको समग्रमा खराब हो । केही मान्छेले गरेको गलत कार्यलाई सिङ्गो राज्यप्रणालीसँग तुलना गरेर हेर्नु र केहीले गरेको गलत कार्यलाई नेता जति सबै उस्तै हुन् भनेर तुलना गर्नु प्रतिगमन वा अलोकतान्त्रिक चरित्रको प्रदर्शन हो । कालो भित्र सेतो हुन्छ र खराब भित्रै पनि असल हुन्छ भन्ने सत्यतालाई बुझेरपनि बुझपचाएर एकोहोरो ब्यबस्थाकै बिरोध गरेर नथाक्नेहरु पनि हिजोका दिनमा कति लोकतान्त्रिक थिए र उनीहरुको पृष्ठभूमी केहो भन्ने कुरा थाहा नभएको होइन । तर, लोकतन्त्र भनेको एउटा गुट वा खास समूहको पुख्र्यौली बपौती पनि होइन , लोकको हित गर्ने शासनको रुपमा स्थापित मान्यता बोकेको लोकतन्त्रलाई भने केही मान्छेले मस्ती, जागीर, नियुक्ति र आफ्नै मावलीको दाइजो जस्तो गरेको रमिताबाट पनि हामी टाढा भने छैनौँ । यसर्थ लोकतन्त्रको सर्वमान्य सिद्धान्त र सर्वहारावर्गको आम मान्यतालाई आजका देश र पार्टी हाँक्नेहरुले थोरै पनि मनन गरिदिए सुन्दा र हेर्दा सुन्दर अनि कताकता सत्य जस्तो लाग्ने तर घुमाईफिराई प्रतिगामी र जनबिरोधी तत्वलाई सेवा गर्ने एक खालका मुखहरु बन्द हुने थिए कि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button