खबर

आगो नियन्त्रण गर्न ४४ हजार सैनिक परिचालन

एजेन्सी – अमेजनको जंगलमा लागेको आगो नियन्त्रण गर्न जी सेभेन राष्ट्रले गरेको सहयोग ब्राजिलले अस्विकार गर्ने भएको छ ।

फ्रान्समा सोमबार समापन भएको जी सेभेन राष्ट्रका नेताहरुको सम्मेलनबाट जी सेभेन राष्ट्रले अमेजन रेनफरेस्टमा लागेको आगो नियन्त्रणमा लिनका लागि २२ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रस्ताव गरेका थिए ।

तर ब्राजिल सरकारले सो रकम स्वीकार नगर्ने जनाएको हो । ब्राजिलका अधिकारीले रकम अस्वीकार गर्नुको कारण भने खुलाएका छैनन् । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले फ्रान्सले ब्राजिललाई आफ्नो उपनिवेश जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।

ब्राजिलका रक्षामन्त्री फेर्नान्डो अजेवेडो इ सिल्भाले अमेजनमा लागेको आगो नियन्त्रण बाहिर नरहेको र अमेजन रेनफरेस्टमा लागेको डढेलो र वातावरणीय संकटसँग जुध्नका लागि ४४ हजार सैनिक परिचालन गरिएको उनले बताएका छन् ।

जी सेभेनले गरेको प्रस्तावमाथि टिप्पणी गर्दै बोल्सोनारोका चिफ अफ स्टाफ अनयक्स लोरेन्जोनीले भनेका छन्, ‘धन्यबाद, तर त्यो रकम युरोपमा वन बिस्तारका लागि बढी सान्दर्भिक हुन्छ होला ।’ आफ्नो जंगलको सुरक्षा कसरी गर्ने भन्ने कुरा ब्राजिलले विश्वका कुनै पनि देशलाई सिकाउन सक्ने उनले बताएका छन् ।

अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो अत्याधिक मात्रामा लागेको छ, गएको वर्षको तुलनामा झण्डै ८५ प्रतिशत आगलागी बढेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button